
दक्षिण कोरिया र जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टि गरेका छन् । जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचाइ र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
मिसाइल जापानको होकाइदो द्वीपलाई नाघेर गएको थियो । दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ । जापानले पनि आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध थप तथा कडा नाकाबन्दी लगाएपछि जवाफमा यो परीक्षण गरेको बताइएको छ ।
सोमबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध नाकाबन्दी लगाउने प्रस्ताव पारित गरेको थियो । आफ्नो अर्थतन्त्रमै असर पार्नेगरी लगाइएको नाकाबन्दीको विरोधमा कडा रुपमा प्रस्तुत हुने प्रतिक्रिया उत्तर कोरियाले दिएको थियो ।
नाकाबन्दीको प्रस्ताव गर्ने अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी उत्तरले दिएको थियो ।
यस पटकको नाकाबन्दीमा भने चीन र रुसले पनि सहमति गर्दै परिषद् बैठकबाट सर्वसम्मत पारित गरिएको थियो । उत्तर कोरियाले केही अघि शक्तिशाली हाइड्रोजन बम नै परीक्षण गरेको थियो । नाकाबन्दीबाट आणविक परीक्षण नरोकिने बरु बढाउँदै लाने चेतावनी उत्तर कोरियाले दिएको थियो ।
संयुक्त राष्ट्रसंघसहित विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले सन् २००६ देखि नै निरन्तररुपमा आणविक क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्