
प्रदेश न–२ का ८ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको प्रचार–प्रसारकाक्रममा आचारसंहिताविपरीतका कार्य भएको अनुगमनकाक्रममा भेटिएपछि आयोगले ती दुवै पार्टीका उम्मेदवारसँग २४ घन्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।
आयोगले स्पष्टीकरणमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेवारी रद्द गर्न नपर्ने कुनै कारण भए २४ घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको नेतृत्वमा रहेको अनुगमन टोलीले बारा जिल्लाको पर्सौनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार जैसवालको नेतृत्वमा निर्वाचन आचारसंहिताविपरीतका काम गरेको भेटेको थियो ।
जैसवाललाई सोधिएको स्पष्टीकरणपत्रमा भनिएको छ–‘भदौ ३० गते तपाइँसहितको माओवादी केन्द्रका कार्यकर्ताले बाराको पर्सौनीमा माओवादी केन्द्रको निर्वाचन चिह्नअंकित टीसर्ट, भेस्ट, टोपी, गम्छा लगाइ मोटरसाइकलसहितको र्याली निकाली निर्वाचन आचारसंहिता उल्लंघन गरेको देखिँदा सोबापत तपाइँको उम्मेदवारी रद्द गर्न किन नपर्ने हो ?’
त्यस्तै, आयोगको टोलीले एमालेबाट जितपुर–सिमरा उपमहानगरपालिकामा प्रमुखका उम्मेदवार पौडेलको नेतृत्वमा सयौंका संख्यामा नेता तथा कार्यकर्ताले एमालेको निर्वाचन चिह्नअंकित टीसर्ट आदि लगाइ तोकिएको मापदन्डभन्दा ठूलो आकारको पार्टीको झन्डासहितको र्याली निकाली निर्वाचन आचारसंहिता उल्लंघन गरेको भेटको थियो ।
स्पष्टीकरणपत्रमा भनिएको छ–‘निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत तपाइँको उम्मेदवारी रद्द गर्न किन नपर्ने हो ? पत्र पाएको मितिले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्नु हुन आदेशानुसार अनुरोध छ ।’
राजपा उम्मेदवारसँग स्पष्टीकरण माग
आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेकामा राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट बारा, कलैया उपमहानगरपालिका–८ का अध्यक्षका उम्मेदवार मनोजकुमार चौरसियासँग २४ घन्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
राजपाका कार्यकर्ता कलैयामा निर्वाचन आचारसंहिताले तोकेभन्दा ठूलो साइजको माइकिङ (डिजे) र ब्यानर प्रयोग गरी निर्वाचन प्रचार–प्रसारमा संलग्न रहेको अवस्थामा आयोगको टोलीले उक्त सामग्री नियन्त्रणमा लिइ स्थानीय प्रहरीलाई बुझाएको थियो ।
आयोगले सोधेको स्पष्टीकरणपत्रमा भनिएको छ–‘आचारसंहिताविपरीतका उक्त क्रियाकलापमा संलग्न भएबापत तपाइँको उम्मेवारी रद्द किन गर्न नपर्ने हो ?’
पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन पनि दिइएको छ ।
प्रमुख निर्वाचन आयुक्तबाट स्थलगत अनुगमन
प्रमुख निर्वाचन आयुक्त डा. यादवले पर्सा र बारा जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रजिअ, निर्वाचन अधिकृत, जिल्लामा रहेका सुरक्षा निकायका प्रमुख र मतदानमा खटिएका कर्मचारीलाई असोज २ गतेको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको कर्मचारी खटन–पटन र शान्ति–सुरक्षाको अवस्थालगायतको स्थलगत अनुगमनमा रहेका डा. यादवले पर्सा र बारामा भएको कार्यक्रममा भारतसँग सीमा जोडिएका क्षेत्रमा शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन एवं सीमामा हुने अवाञ्छित आवत–जावत तथा गतिविधिलाई कडाइका साथ निगरानी पु¥याउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
आयुक्तद्वय नरेन्द्र दाहाल र सुधीरकुमार शाहले पनि प्रदेश–२ का गौर तथा मलंगवाको शुक्रबारै स्थलगत अनुगमन भ्रमण गरी निर्वाचन व्यवस्थापनका लागि भइरहेको तयारीबारे जानकारी लिएका छन् ।
उनीहरूले मतदान केन्द्रमा खटिने कर्मचारीको खटन–पटनका सम्बन्धमा भएको गम्भीर त्रुटि र लापरबाहीका सम्बन्धमा जिल्लास्तरका मुख्य निर्वाचन अधिकृत, प्रजिअ र अन्य सम्बद्ध पदाधिकारीबीच समन्वयमा भएको कमजोरी सुधार गरी कार्यसन्चालन गर्न निर्देशन दिएको आयोगले जनाएको छ ।
आयुक्तद्वयले जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रजिअ निर्वाचन अधिकृत, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जिल्ला निर्वाचन अधिकारीलगायत निर्वाचनमा खटिएका कर्मचारीलाई स्वच्छ र निष्पक्षरुपमा निर्वाचन सन्चालन गर्न र आचारसंहिता पालना गर्न/गराउन निर्देशन दिँदै मतदानमा उचित सुरक्षा प्रदान गर्न तथा मतगणना व्यवस्थित र सुरक्षितरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई सुझाव दिए । रासस
प्रतिक्रिया दिनुहोस्