३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


अपांगतामैत्री छैनन् सामुदायिक विद्यालय (भिडियो रिपोर्ट)


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)

धनुषा, पुस ३० । यस वर्ष सरकारले निकै तामझामका साथ भर्ना अभियान सुरु गर्‍यो । तर, अझैपनि ६० हजार बालबालिका विद्यालयबाहिर नै छन् ।

भर्ना अभियानबाट विद्यालय ल्याइएका धेरै बालबालिकाहरुले पनि विद्यालय छाडिसकेका छन् ।

विद्यालयहरु अपांगता  मैत्री हुन नसक्दा पनि धेरै बालबालिका विद्यालयबाहिर नै छन् ।

धनुषा जिल्लाका १३ वर्षीय मन्दीपकुमार यादव राम्रोसँग हिँड्डुल गर्न सक्दैनन् । जन्मजात नै खुट्टाको समस्या भएका मन्दीप हाल कक्षा–६ मा पढ्छन् ।

तर, उनी दिनहुँ विद्यालय जान समस्या भएको गुनासो गर्छन् । पढ्नमा एकदमै रुचि राख्ने मन्दीप शिक्षक र साथीभाइलेसमेत राम्रो व्यवहार नगर्दा विद्यालय जान मन नलाग्ने बताउँछन् ।

आर्थिक अवस्थासमेत कमजोर रहेका कारण छोराले पढ्नमा चासो देखाएरपनि राम्रो विद्यालय पढाउन नसकेको उनकी आमाले गुनासो गरिन् ।

यस्तै, १८ वर्षीया निलुदास पनि राम्रोसँग बोल्न सक्दिनन् । कक्षा–६ सम्म त निलु जसोतसो विद्यालय गइन् । राम्रोसँग लेखपढ गर्न नै नसक्ने निलु विद्यालयले नै बेवास्ता गर्न थालेपछि विद्यालय जान नै छाडिन् ।

निलुकी दिदी नितुले भने ‘राम्रोसँग लेख्न नै सक्दिन, एउटै कक्षामा कति वर्ष पढाउनु ?’ भन्दै विद्यालय नपठाएको बताउँछिन् ।

सुस्त मनस्थितिका १६ वर्षीय रितिककुमार शाह विद्यालय त जान्छन् तर उनी पनि राम्रोसँग लेखपढ गर्न भने सक्दैनन् । शिक्षकले पढाएको कुरा राम्रोसँग बुझ्न र बोल्न उनलाई समस्या छ ।

साथीभाइले जिस्क्याउने र घोचपेच गरेको गुनासो उनले आफ्ना भाइसँग गर्ने गरेका छन् ।

सबैलाई समान शिक्षा भन्दै सरकारले वर्षेनि नीति तथा कार्यक्रम बनाउँछ । तर, अपांगता भएका बालबालिकाको हकमा के गर्ने भन्ने सरकारी योजना छैन ।

लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयका प्रधानाध्यपक रामचन्द्र झाले अपांगता भएका बालबालिकालाई पढाउने वातावरण नै नभएको बताउँछन् ।

लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख विन्देश्वर यादव भने सरकारले स्थानीय तहलाई पूर्णरुपमा अधिकार नदिएकाले काम गर्न नसकेको बताउँछन् ।

माघ महिनादेखि गाउँपालिकामा कति अपांगता भएका बालबालिका छन्, त्यो अनुगमन गरेर विद्यालय ल्याउने दाबी गर्न भने उनले छाडेनन् ।

अपांगता भएका कति बालबालिका विद्यालयबाहिर छन् भनेर शिक्षा मन्त्रालयले अनुगमन नै गरेको छैन ।

शैक्षिक क्षेत्रमा देखिएका यस्ता समस्याको समाधान नगरेसम्म भर्ना अभियानका नाममा जति नै तामझाम गरेपनि विद्यार्थीलाई विद्यालयमा टिकाउन त्यति सजिलो भने देखिँदैन ।

भिडियो हेर्नुहोस्