१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


प्रदेश–२ को निर्वाचनमा सबैभन्दा बढी आचारसंहिता उल्लंघन


0
Shares

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा अघिल्ला दुई चरणका स्थानीय तहभन्दा बढी आचारसंहिता उल्लंघनका घटना भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनका अघिल्ला चरणभन्दा २ नम्बर प्रदेशमा हुन गइरहेको तेस्रो चरणको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटना बढी भएपछि उल्लंघन गर्नेदेखि आयोगसम्मैको आलोचना बढेको छ ।

दल र उम्मेदवारलाई आचारसंहिता उल्लंघनमा कारबाही गर्न नसकेको भन्दै आयोगको आलोचना भएको हो ।

निर्वाचन आयोगकाअनुसार प्रदेश नम्बर–२ मा निर्वाचन कार्यक्रम सुरु भएदेखि मौनअवधिसम्ममा ४२५ भन्दा बढी आचारसंहिता उल्लंघनका घटना भएका छन् । आयोगले कारबाही गरेको संख्या पनि ४२५ नै रहेको छ ।

स्थानीय तह निर्वाचन आचारसंहिता र निर्वाचन ऐन २०७३ ले आयोगलाई आचारसंहिता उल्लंघन गर्ने दल र तिनका उम्मेदवारलाई स्पष्टीकरण सोध्नेदेखि नगद जरिवाना र उम्मेदवारी रद्द गर्नेसम्मको अधिकार दिएको छ । तर, अहिलेसम्म निर्वाचन आयोगले स्पष्टीकरणमात्र सोधेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव आचारसंहिता निर्वाचन सफल पार्न लागू गरिएकाले सबैपक्ष मिलेर निर्वाचन सफल पार्नुपर्ने बताए ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि बहालवाला उपप्रधानमन्त्री विजयकुमार गच्छदारसम्म २४ घन्टे स्पष्टीकरणमा परेका छन् ।

आयोगले प्रदेश नम्बर–२ का जिल्लामा आफ्नो मताधिकार नभएका मन्त्रीलाई उपस्थित नहुन भनेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. यादव विवेक प्रयोग गरेर मतदान गर्न मतदातालाई अपिल गर्छन् ।

त्यसो त तेस्रो तहको निर्वाचन अनुगमनका लागि २ नम्बर प्रदेशमा स्वयं प्रमुख निर्वाचन आयुक्त डा. यादव अनुगमनमा गएका छन् ।

त्यस्तै, निर्वाचन आयुक्त नरेन्द्र दाहाल र सुधीरकुमार शाहले पनि जिल्लाहरुको स्थलगत अनुगमन गरेका छन् । यति हुँदाहुँदै पनि निर्वाचन आचारसंहिता उल्लंघनका घटना भने रोकिएका छैनन् ।

प्रदेश नम्बर–२ मा १३६ स्थानीय तहमा ६ हजार ६०० पदका लागि ३६ हजार ३१८ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् भने २६ लाख ६४ हजार ९५० मतदाता छन् ।

भिडियो हेर्नुहोस्