Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


हलेसी–तुवाचुङ नगरपालिकाको बजेट ४१ करोड


0
Shares

शनिबार सम्पन्न नगरसभाले ४१ करोड रुपैयाँभन्दा बढीको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

हलेसीस्थित होटल हलेसी भिलेजमा आयोजित प्रथम नगरसभाले ४१ करोड २९ लाख ४८ हजार ११० रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो ।

नगरपालिकाका मेयर इवन राईले पेस गरेको वित्तीय समानीकरण (निःशर्त) अनुदानतर्फ २३ करोड ३५ लाख ३९ हजार र नेपाल सरकारको सःशर्त अनुदानतर्फ १५ करोड ३६ लाख ४० हजार रुपैयाँ बजेट नगरसभाले पारित गरेको हो ।

निःशर्त अनुदानतर्फको ७५ प्रतिशत रकम अर्थात् १७ करोड ५१ लाख ५४ हजार २५० रुपैयाँ पुँजीगततर्फ तथा निःशर्ततर्फको २५ प्रतिशत अर्थात् ५ करोड ८३ लाख ८४ हजार ७५० रुपैयाँ बजेट चालूका लागि बजेट विनियोजन गरिएको मेयर इवन राईले जानकारी बताए ।

नगरयोजनातर्फ सबैभन्दा बढी रकम पर्यटन सडक निर्माणका लागि २ करोड १५ लाख, विद्युत्का लागि २ करोड, कृषि तथा स्वास्थ्यका लागि १ करोड, सिँचाइका लागि ३० लाख, युवाउद्यमीका लागि ७५ लाख, सुरक्षित आप्रवासन परियोजनाका लागि ३ लाख, भाषा, साहित्य, कला र संस्कृतिका लागि १५ लाख, लोडर तथा स्काभेटर खरिदका लागि ७५ लाख, खेलकुदका लागि ५ लाख, गम्भीर रोगका लागि ३ लाख, दलित, महिला, ज्येष्ठ तथा अपांगका लागि १ करोड १८ लाख रुपैयाँको बजेट विनियोजन गरिएको मेयर राईले बताए ।

नगरले पुँजीगततर्फको १७ करोड ५१ लाख ५४ हजार २५० मध्ये नगरयोजनाका लागि १० करोड २५ लाख ३५ हजार ८०, ११ वडाका लागि ५ करोड ६ लाख १३ हजार, समपुरक कोषका लागि १ करोड ५० लाख, विपद् व्यवस्थापनतर्फ ३५ लाख ३ हजार ८५, कन्टिन्जेन्सी बजेटका लागि ३५ लाख ३ हजार ८५ रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, सःशर्त बजेटमध्ये शिक्षा शाखाका लागि १३ करोड ६३ लाख २ हजार, जनस्वास्थ्य सेवा शाखाका लागि १ करोड २४ लाख ५ हजार, आयुर्वेद स्वास्थ्य शाखाका लागि १८ लाख ५४ हजार, कृषि विभागतर्फ १६ लाख र पशुसेवा विभागतर्फ १४ लाख ७९ हजार रुपैयाँ आएको नगरपालिकाले जनाएको छ ।