
१३६ स्थानीय तहमा ६ हजार ६२७ पदमा जनप्रतिनिधि चुन्न मतदान हुन लागेको हो ।
दुई दशकपछि संविधानबाटै अधिकार सुनिश्चित गरेर हुन लागेको यस निर्वाचनमा अरु प्रदेशमाझै २ नम्बर प्रदेशमा पनि आफ्नो मताधिकार प्रयोग गर्न मतदाता आतुर र व्यग्र देखिएका छन् ।
कोसी पश्चिम र पर्सासम्म तराईको समथर भू–भाग समेटेर बनाइएको प्रदेश नम्बर–२ मा ८ जिल्ला छन् । जहाँ एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान हुन लागेको हो ।
मतदानबाट ६ हजार ६२७ जनप्रतिनिधि चुनिनेछन् । जसका लागि ३६ हजार ९९३ उम्मेदवार मैदानमा छन् । प्रदेश नम्बर–२ का ८ जिल्लामा २६ लाख ६४ हजार ९५० मतदाता छन् ।
मतदानका लागि ३ हजार ५७७ मतदान केन्द्र तोकिएको छ । प्रदेश नम्बर–२ मा १ हजार २०० वडा छन् ।
प्रदेश नम्बर–२ का ८ जिल्लामध्ये सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही हो ।
सर्लाहीमा १० नगरपालिका र १० गाउँपालिका गरी २० स्थानीय तह छन् । निर्वाचनका लागि ३१८ मतदानस्थल र ५०१ मतदान केन्द्र तोकिएको छ । सर्लाहीमा ३ लाख ६६ हजार ६०० मतदाता छन् ।
३ लाख ३१ हजार ६७९ मतदाता रहेको सप्तरीमा भने १८ स्थानीय तह छन् । निर्वाचनका लागि २९५ मतदानस्थल र ४६२ मतदान केन्द्र कायम गरिएको छ ।
एक महानगरपालिका रहेको पर्सामा भने १४ स्थानीय तह छ । २ लाख ८० हजार २१२ मतदाता रहेको पर्सामा स्थानीय तह निर्वाचनका लागि १६७ मतदानस्थल र ३४४ मतदान केन्द्र तोकिएको छ ।
स्थानीय तह निर्वाचनका लागि ३२७ मतदानस्थल र ५३२ मतदान केन्द्र तोकिएको धनुषामा १ उपमहानगरपालिकासहित १८ स्थानीय तह छन् । धनुषामा ३ लाख ८९ हजार ३९१ मतदाता छन् ।
यस्तै, १७ स्थानीय तह रहेको सिराहामा ३ लाख ३२ हजार ८९५ मतदाता छन् भने २२१ मतदानस्थल र ४३१ मतदान केन्द्र कायम गरिएको छ ।
रौतहटमा भने १८ स्थानीय तह छन् । ३ लाख २१ हजार १८ मतदाता रहेको रौतहटमा २७७ मतदानस्थल र ४३४ मतदान केन्द्र तोकिएको छ ।
२ उपमहानगरपालिकासहित १६ स्थानीय तह रहेको बारामा ३०४ मतदानस्थल र ४५९ मतदान केन्द्र छ । जहाँ ३ लाख ३४ हजार ७४६ मतदाता छन् ।
यस्तै, ३ लाख ८ हजार ४०९ मतदाता संख्या रहेको महोत्तरीमा १५ स्थानीय तह छन् भने निर्वाचनका लागि २५७ मतदानस्थल र ४१५ मतदान केन्द्र कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्