वासुदेव वर्मा/ईमेज
कपिलवस्तु । चराको राजधानी मानिने कपिलवस्तुको जगदिशपुर तालको संरक्षण र सम्वद्र्धनमा प्रदेश ५ सरकारले चासो देखाएको छ ।
तालको बीचमा ६० फिट बुद्धको मूर्ति राखिनुका साथै जलाशय वरपरको क्षेत्रलाई सुन्दर बनाइने भएपछि पर्यटकीय क्षेत्रको रुपमा विकास हुने अपेक्षा गरिएको छ ।
जगदीशपुर ताल विभिन्न प्रकारका चराहरुको संगमस्थल हो ।
खासगरी रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका ठाउँबाट जाडो छल्न हिउँद याममा चराहरु नेपाल आउँछन् ।
जैविक विविधता, सिमसार र चराका कारण महत्वपूर्ण मानिएकाले यस ताललाई सन् २००३ मा रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो ।
तालको विकास र संर्बद्धनमा प्रदेश ५ सरकारले चांसो दिएसँगै स्थानीय समेत उत्साहित बनेका छन् ।
चालु आवमा प्रदेश सरकारले २ करोड र संघीय सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
तालको बीचमा ६० फिट अग्लो बुद्धको मुर्तीका साथै वरपरको क्षेत्रमा भवन, जैविक विविधता पार्क र टावर निर्माण गर्ने तयारी गरिएको जगदिशपुर जलाशय ब्यबस्थापन बहुसरोकार मंचका अध्यक्ष ललित गुरुङले बताए ।
कृत्रिम रूपमा बनाईएको यो ताल १ सय ५७ हेक्टरमा फैलिएको मुलुककै ठूलो ताल हो । पछिल्लो समय तालमा डुंगा संचालनपछि पर्यटकहरुको आवागमन बाक्लिन थालेको छ ।
तर तालमा डुंगा चलाउँदा पक्षीको संख्या घट्न थालेको टिप्पणी पनि उठ्न थालेको छ ।
उता, बाणगंगा सिंचाइ डिभिजन कार्यालयका प्रमुख रामकृष्ण घोरासैनीले भने डुंगा सञ्चालन गर्दा पारिस्थितीक प्रणालीलाई कुनै असर नपार्ने स्पष्ट पार्छन् ।








प्रतिक्रिया दिनुहोस्