३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


पहिरोले सिंगो गाउँ नै जोखिममा


0
Shares

म्याग्दी, पुस २९ । दश वर्ष अघिदेखि खस्न शुरु गरेको पहिरोले विशाल रुप लिँदै गएपछि म्याग्दीको बेनी नगरपालिका वडा नं –३ मा पर्ने तोराखेत गाउँ जोखिममा परेको छ ।

पहिरोको पुछारमा पर्ने बेनी नगरपालिका २ को बगरफाँट गाउँ पनि खतरामा छ । २०६५ सालमा खस्न सुरु भएको पहिरोले वर्षेनि कटान गर्दै गएपछि तोराखेतका १२ घरपरिवार विस्थापित भएका छन् भने २० घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

विस्थापित भएकाहरु कोही ज्यामरुककोटको भकुन्डेमा बसेका छन् भने केही खबरा र बगरफाँटमा सरेका छन् । वर्षामा मात्र नभई हिउँदमासमेत सुख्खा पहिरोले दुःख दिने गरेको स्थानीय डिलवहादुर सापकोटाले बताए ।

आफूहरुसँग भएको सबै जमिन पहिरोले बगाइसकेको र घर बनाउनेसमेत जमिन बाँकी नरहेको स्थानीय भीमबहादुर दर्जीले बताए ।

आफ्नो पीडाका बारेमा स्थानीय र प्रदेश सरकारलाई समेत जानकारी गराएको भए पनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ । पहिरोका कारण बस्ती नै स्थानान्तरण गर्नुपर्ने देखिएको छ । पहिरोकै कारण बालबालिकालाई विद्यालय जानसमेत समस्या हुने गरेको छ ।