१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


प्रारम्भिक मतपरिणामः यसकारण पछि पर्‍यो राजपा (भिडियो रिपोर्ट)


0
Shares

खासगरी मधेसकेन्द्रित दलको प्रभाव क्षेत्र भनिएको यो प्रदेशको प्रारम्भिक मतपरिणामले पनि राष्ट्रिय पार्टीप्रति नै जनताको अभिमत देखिएको छ भने जातीय र क्षेत्रीय प्रभाव घट्दै गएको देखाएको छ ।

१३६ स्थानीय तहका लागि भएको निर्वाचनको प्रारम्भिक परिणाममा राष्ट्रियरुपमा रहेका पार्टीहरुले नै वर्चस्व राखेका छन् ।

प्रदेश नम्बर–२ खासगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको प्रभाव क्षेत्र भनिएपनि राष्ट्रिय जनता पार्टीभन्दा राम्रो परिणाम उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले ल्याइरहेको छ ।

अहिलेसम्म फराकिलो अन्तरसहित नेपाली कांग्रेस पहिलो दलकोरुपमा देखिएको छ । बाँकी दल दोस्रो, तेस्रो स्थानका लागि कसरत गरिरहेका छन् ।

अरु ६ प्रदेशमा पहिलो बनेको नेकपा एमाले तेस्रो/चौथोतिर अल्झेको छ । माओवादी केन्द्र दोस्रो/तेस्रोको प्रतिस्पर्धामा छ ।

कांग्रेसबाहेकका संघीय समाजवादी फोरम नेपाल, राजपा, एमाले र माओवादी दोस्रो दलको दौडमा देखिन्छन् । नेपाल लोकतान्त्रिक फोरम छैटौं दल बन्ने निश्चितजस्तै छ भने अरु दलको उपस्थिति नगन्य देखिएको छ ।

राजपाको प्रभाव क्षेत्र भनिएपनि उसको गृहकार्य, ढुलमुले प्रवृत्तिका कारण पछि परेको विश्लेषण विश्लेषक डा. राजेश अहिराजको छ ।

प्रदेश नम्बर–२ जनआन्दोलन २०६२/०६३ पछि सबैभन्दा बढी आन्दोलित बनेको क्षेत्र हो । यो प्रदेशमा सहजैरुपमा निर्वाचन सम्पन्न हुँदैन कि भन्ने त्रास पनि थियो ।

तर, सबैभन्दा उत्साहजनक र शान्तिपूर्ण ढंगबाट मतदान भएबाट जनताको निर्वाचनप्रतिको विश्वास र भर देखिएको छ । त्यसैले त सबैभन्दा बढी मत पनि यही क्षेत्रमा खस्यो । यसले मधेसका जनता निर्वाचनका लागि आतुर रहेको प्रस्ट देखायो ।

मधेस मामिलाका जानकारसमेत रहेका विश्लेषक अहिराज अहिले प्रदेश नम्बर–२ मा देखिएको परिणामलाई स्वाभाविक मान्छन् ।

भिडियो हेर्नुहोस्