उनले इटालीको फ्लोरेन्समा गरेको एक सम्बोधनका क्रममा युरोपियन युनियनसँगको आर्थिक सम्बन्ध कायम राख्न महत्वाकांक्षी नयाँ ढाँचा बनाउनका लागि आह्वानसमेत गरकी छन् ।
आगामी दिनमा पुराना ढाँचा उपयुक्त नहुने उनको भनाइ छ । प्रधानमन्त्री मे ले बेलायतले धेरै प्रजातान्त्रिक नियन्त्रण गुमाउने भन्दै नर्वे र स्वीट्जल्याण्ड आबद्ध रहेको युरोपेली आर्थिक क्षेत्रको मोडललाई अस्वीकार गरिन ।
त्यस्तै क्यानडासँगको ईयुको स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी तयार पारिएको ढाँचा पनि बेलायतको हालको ईयुसँगको सम्बन्धसँग तुलना गर्दा निकै संकुचित हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री मे को सम्बोधन ईयूबाट ब्रिटेन अलग्गिनेबारे हाल अवरुद्ध रहेको वार्तालाई नयाँ गति दिनका लागि आएको हो । यससम्बन्धी वार्ता सोमबार शुरु हुने बताइएको छ ।
आफ्नो सम्बधोनका क्रममा उनले सन् २०१९ को मार्चमा ईयुबाट बेलायत औपचारिक रुपमा अलग भएपछि त्यसपछिका दुई वर्षसम्मका लागि एउटा संक्रमणकालीन सम्झौताको प्रस्ताव गरे ।
सम्झौता इयुसँगको एक स्थायी व्यापार सम्झौता पूर्व हुने गरी प्रस्तावित छ । त्यसमा दुई वर्ष समयका लागि ब्रिटेनले तिर्नुपर्ने २० अर्ब यूरो पनि समावेश छ ।
यसैबीच बेलायती प्रधानमन्त्री इयुबाट बेलायत अलग हुनेबारेको वार्तामा देखिएको गतिरोध तोड्ने विषयमा दिएको भाषणको इयुका प्रमुख नेताहरुले स्वागत गरेका छन् ।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोन र ब्रेक्जिटबारे इयुका प्रमुख वार्ताकार मिशेल बार्निएले भाषणको प्रशंसा गरेका हुन् ।
तर उनीहरुले बजेटसम्बन्धी बेलायतको प्रतिबद्धता र बेलायतमा रहेका इयुका नागरिकको सुरक्षासम्बन्धी नयाँ प्रारुपबारे उल्लेख गरेपछि त्यसबारे विस्तृत विवरण माग गरेका छन् ।(एजेन्सी)





प्रतिक्रिया दिनुहोस्