
पूर्णप्रसाद मिश्र (रासस)
काठमाडौं, पुस २८ । मुलुकको प्रमुख प्रशासनिकस्थल सिंहदरबारका सबै कार्यालय बन्द थिए । पुसको बिहानी चिसो थियो । चिसोको पर्वाह नगरी कर्मचारी र सुरक्षाकर्मी सिंहदरबार सफाइमा जुटे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको संयोजनमा भएको सफाइमा अधिकांश मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत बिहानैदेखि जुटेका थिए ।
प्रमुख प्रशासनिकस्थल क्षेत्रमा यत्रतत्र थुपारिएका निर्माण सामग्री, पुराना सवारी उठाइ व्यवस्थित गरिएको कार्यालयका प्रशासन शाखा प्रमुख उपसचिव विष्णु घिमिरेले राससलाई जानकारी दिए ।
विभिन्न मन्त्रालयअघि थुपारिएका पुराना सवारीलाई गृह मन्त्रालयपछिको भागमा व्यवस्थित तरिकाले राखिएको छ ।
पुराना सवारीमध्ये मर्मत गरेर सन्चालनमा आउनसक्नेलाई उपयोगमा ल्याइने कार्यालयले जनाएको छ ।
शनिबार १०० भन्दा बढी सवारी–साधनलाई व्यवस्थित गरिएको शाखा अधिकृत सुरज पोखरेलले सुनाए ।
उपत्यकाबाट ३३ मेट्रिकटन फोहर व्यवस्थापन
यसैगरी, उपत्यकाका नदी र चक्रपथ सफाइ गरी अभियानकर्मीले ३३ मेट्रिकटन फोहर व्यवस्थापन गरेका छन् ।
सफाइबाट संकलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।
स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको हो ।
वाग्मती सफाइ महाअभियानको २९६औं हप्तामा ललितपुरतिरको गुसिंगालमुनिको नदी किनारमा सफाइ गरी सात मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइमा राष्ट्रियसभाकी सांसद कोमल ओली, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मीको सहभागिता थियो ।
शाखा अधिकृतको नाम निकाली नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालिम लिइरहेका १०० नयाँ कर्मचारी पनि सफाइ अभियानमा सहभागी भएको जनाइएको छ ।
सफाइमा १८ संस्थाका ४५० अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी एवं अधिकारसम्पन्न वाग्मती समिति सन्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिइन् ।
डेढ वर्षअघि गुसिंगाल क्षेत्रबाट हटाइएका सुकुम्वासी फेरि नदी किनारमा आइ बसेकाले नदीमा फोहर बढेको पाइएको उनले जानकारी दिइन् ।
गुह्येश्वरीमाथिको नदी सफाइको २५७औं हप्तामा गोकर्णेश्वर नगरपालिका वडा नम्बर–४ स्थित माकलबारी बसपार्कअघिको नदी किनारमा सफाइ गरियो ।
नगरपालिका–४ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।
मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारमा सफाइमा नआउनसमेत आह्वान गरेको छ ।
सो अवसरमा नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, मानवअधिकार तथा शान्ति समाजलगायत संघ–संस्थासहित माकलबारी टोलवासी गरी ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
रुद्रमती सफाइ अभियानको २५१ हप्तामा रातोपुल–सेतोपुलसम्मको नदी किनारमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइमा काठमाडौं महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वडासदस्यद्वय शर्मिला महतो र मनोज डंगोलसहित २०० अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी रोहित गिरीले जानकारी दिए ।
विष्णुमती सफाइ अभियानको २२३ हप्तामा तारकेश्वर नगरपालिका–९ मा सफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी अनिल धरेलले बताए । सफाइसँगै सो क्षेत्रमा जनचेतनामूलक अभियान पनि गरिएको थियो ।
वाग्मतीको तिलगंगा क्षेत्रमा १९८औं हप्ताको सफाइ तिलगंगा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो ।
तिलगंगा आँखा अस्पतालअघिको नदी किनारमा भएको सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिइन् । सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०६औं हप्ताको सफाइ गरियो । १०० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिए ।
मनोहरा नदी सफाइको ९६औं हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दंगालले बताए । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
चक्रपथ सफाइ अभियानको ९२औं हप्तामा ग्रीनसिटी अस्पतालबाट वसुन्धराचोकसम्म सफाइ गरी १२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिए ।
सफाइमा महिला टेम्पो चालकलगायत ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
सफाइ अभियान सुरु भएको १००औं हप्ताको कार्यक्रमलाई विशेषरुपमा मनाउने तयारी गरिएको उनले सुनाए ।
आलोकनगर सफाइको ९२औं हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिइन् । सो अवसरमा जनचेतनामूलक अभियानसमेत चलाइएको थियो ।
चक्रपथ–बाफलखन्ड सफाइको ७४औं हप्तामा कलंकीचोकमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
२०० भन्दा बढी अभियानकर्मीको सहभागितामा भएको सफाइमा हेभी इक्विपमेन्ट डिभिजनको सहयोगमा ब्रुमर लगाइ सडकको धुलो टिपिएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।
वि.सं. २०७० जेठ ५ गतेदेखि सुरु भएको उपत्यकाका नदी एवं चक्रपथलगायत विभिन्न स्थानको सफाइले देशव्यापी स्वरुप ग्रहण गरेपनि सोचेजति सफा हुन नसकेको गुनासो छ ।
सरकारले यस वर्षलाई सरसफाइ वर्षकारुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ ।
वाग्मती किनारमा सन्चालन भएका सुंगुर–बंगुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्