
अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्र ६ ओटा स्थानीय तहमा विजयी भएको छ भने संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले चार/चार तथा नेपाली कांग्रेसले दुई स्थानीय तहमा विजयी हासिल गरेका छन् ।
पछिल्लोपटक शनिबार बिहान सम्पन्न सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी, लहान नगरपालिकामा नेकपा एमाले र सिरहाको बरियारपट्टि गाउँपालिका तथा लक्ष्मीपुर–पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएका छन् ।
सिरहाको गोलबजार नगरपालिकामा माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा (यशु) ६ हजार ३४९ मतसहित उपप्रमुखमा निर्वाचित भएका छन् ।
उनीहरुका निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रमुख पदका उम्मेदवार श्यामकुमार श्रेष्ठले पाँच हजार ८९ मत प्राप्त गरे भने एमालेकै उपप्रमुख पदकी उम्मेदवार सुनितादेवी सिंहले चार हजार ९२५ मत प्राप्त गरेकी छन् ।
यस्तै, सिरहाको लहान नगरपालिका प्रमुखमा एमालेका मुनि साह सुडी ११ हजार ३०७ मतसहित प्रमुखमा र एमालेकै सरियारकुमारी चौधरी ११ हजार १६८ मतसहित उपप्रमुखमा विजयी भएका छन् ।
उनीहरुका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका प्रमुख पदका उम्मेदवार अचमितलाल चौधरीले ९ हजार १३१ मत प्राप्त गरे भने कांग्रेसकै उपप्रमुख पदकी उम्मेदवार पुनम चौधरीले ९ हजार ९०६ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, सिरहाको बरियारपट्टि गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले विजयी हासिल गरेको छ ।
फोरमका सन्तोषकुमार महतोले तीन हजार ९७९ मतसहित प्रमुखमा विजयी भएका छन् भने फोरम नेपालकै रेखाकुमारी यादव तीन हजार ७६३ मतसहित उपाध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।
उनीहरुका निकटतम् प्रतिद्वन्द्वी अध्यक्षमा कांग्रेसका बालेश्वर यादवले दुई हजार ८८१ र उपाध्यक्षमा कांग्रेसकै कुमारी यादवले दुई हजार ८५५ मत ल्याएका छन् ।
त्यस्तै, सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामबल्लभ साह चार हजार चार मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा फोरमकै आशादेवी यादव तीन हजार ६४६ मतसहित विजयी भएकी छन् ।
उनीहरुका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार चतुरानन्द ठाकुरले तीन हजार २४५ र उपाध्यक्षमा कांग्रेसकै अमरकला यादवले तीन हजार ३७१ मत प्राप्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्