
सोमबार भएको चुनावको जारी मतगणनामा १३ स्थानीय तहको अन्तिम परिणाम शनिबार मध्याह्नसम्म सार्वजनिक भएको हो ।
मनरा शिशवा नगरपालिका र पिपरा गाउँपालिकाको परिणाम आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए ।
शनिबार घोषित दुई स्थानीय तहमध्ये बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रका विदुरकुमार कार्की र कृष्णकुमारी गौतम क्रमशः प्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका छन् ।
कार्कीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रह्लाद क्षत्रीभन्दा एक हजार १७ मत बढी अर्थात् ९ हजार १८७ र गौतमले कांग्रेसकै तारादेवी महतोभन्दा एक हजार ८१२ मत बढी अर्थात् ८ हजार ८३५ मत प्राप्त गरेका छन् ।
यसैगरी, जलेश्वर नगरपालिकामा राजपा नेपालका रामशंकर मिश्र आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका सुरेश साह सोनारलाई एक हजार ८१३ मतले पछि पार्दै पाँच हजार १८० मत प्राप्त गरी प्रमुखमा निर्वाचित भएका हुन् ।
त्यसैगरी, राजपा नेपालकी मुनचुन देवी आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकाकी अनिता शर्मालाई एक हजार ८५० मतले पछि पार्दै चार हजार ५६६ मत प्राप्त गरेर उपप्रमुखमा निर्वाचित भएको घोषणा भएको छ ।
यसबाहेक ११ स्थानीय तहको परिणाम घोषणा शुक्रबार साँझसम्ममै भइसकेको थियो ।
जिल्लाका घोषित परिणाममध्ये सबैभन्दा बढी राजपा नेपालले पाँच स्थान जितेको छ । जसमा जलेश्वर, भंगाहा र मटिहानी नगरपालिका एवं एकडारा र महोत्तरी गाउँपालिका रहेका छन् । यसबाहेक बलवा र औरही नगरपालिकाका उपप्रमुख पनि राजपाकै पोल्टामा परेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले चार स्थानमा जित हासिल गरेको छ । जसमा बर्दिबास, रामगोपालपुर र गौशाला नगरपालिका र सम्सी गाउँपालिका छन् ।
नेपाली कांग्रेसले लोहारपट्टी नगरपालिकामा प्रमुख–उपप्रमुख दुवै र औरही र बलवा नगरपालिकामा प्रमुख पद जितेको छ ।
घोषित परिणाममध्ये संघीय समाजवादी फोरमले सोनमा गाउँपालिकामा जित हासिल गरेको छ ।
जिल्लामा मतगणना जारी रहेका दुवै ठाउँको मतगणना शनिबार अबेर रातिसम्म सकिने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्