
काठमाडौं, पुस २८ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनमा फेरि ढिलाइ हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न परिपत्र जारी गरेपछि नेविसंघको महाधिवेशन अन्योलमा परेको हो । अहिले अधिकांश क्याम्पसमा जाडो बिदा भएकाले खुलेलगत्तै स्ववियु निर्वाचनमा लाग्नुपर्ने बाध्यता देखिएको छ । त्यसैले पनि महाधिवेशन गर्न ढिला हुने नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।
विधानमा भएको व्यवस्थाअनुसार तोकिएको समयमा कार्यसमितिले अधिवेशन गर्न नसकेपछि अब अधिवेशन आगामी वैशाखमा मात्र गर्ने तयारी सुरु भएको छ । नेविसंघले आगामी वैशाखमा मात्र अधिवेशन गर्न अनौपचारिक प्रस्ताव गरिसकेको छ ।
अध्यक्ष महरले अहिलेसम्म ७० प्रतिशत विद्यालय र क्याम्पसमा तथा १६ वटा जिल्लामा अधिवेशन सकिएको बताए । ४० वटा जिल्लामा अधिवेशन गर्ने तयारी अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।
आगामी माघ १५ भित्र सबै जिल्ला, स्कुल तथा कलेजको अधिवेशन सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्