काठमाडौं, पुस २७ । महिलाको स्वास्थ्य अवस्थाप्रति महिलालाई नै सचेत गराउने उद्देश्यले आयोजना हुँदै आएको पिंकाथन काठमाडौंको तेस्रो संस्करण आगामी फागुन ११ गते हुने भएको छ ।
नेपालकै सबैभन्दा ठूलो महिला दौडमा कीर्तिमानी पाँच हजार महिलाले सहभागिता जनाउने अपेक्षा आयोजकको छ ।
चार स्पर्धामा प्रतिस्पर्धा हुने उक्त दौडको २१ किलोमिटरमा विजयी हुनेले ५१ हजार, उपविजेताले ३१ हजार तथा तेस्रो हुनेले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यसैगरी, १० किलोमिटर दौडको विजेताले ३१ हजार, उपविजेताले २१ हजार तथा तेस्रो हुनेले ११ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
२१ किलोमिटरको हाफ म्याराथनमा सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले यसअघिका दुवै संस्करण जितेकी थिइन् । त्यसैगरी, १० किलोमिटरमा सशस्त्रकै सन्तोषी श्रेष्ठ साविक विजेता हुन् ।
बलिउड सुपर मोडल मिलिन्द सोमनको लोकल्याणकारी संस्था युनाइटेड सिस्टर्स फाउन्डेसनले महिलामा हुने स्तन क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले भारतका विभिन्न ८ सहरमा यो दौड गर्दै आएकोमा दुई वर्षदेखि अन्तर्राष्ट्रिय संस्करणकारुपमा काठमाडौंमा गर्न थालिएको हो ।
यो ‘फ्रेन्चाइज’ पिंकाथनलाई लिजर पोर्ट नेपाल प्रालिले नेपाल भित्र्याएको हो ।








प्रतिक्रिया दिनुहोस्