
जिल्लाका एक दर्जनभन्दा बढी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सेवा सुरु भएपछि सुरक्षित गर्भपतन गर्नेको संख्यामा बृद्धी भएको जिल्ला स्वास्थ्य प्रमुख घनश्याम भट्टले बताए ।
‘सुरक्षित गर्भपतन सेवा, महिला प्रजनन अधिकारमा टेवा’ भन्ने मुल नाराका साथ तेस्रो सुरक्षित गर्भपतन दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा आव ०७१/७२ मा ४५०, ०७२/०७३ मा ४८६ र ०७३/०७४मा ९१६ महिलाले सुरक्षित गर्भपतन गराएका छन् ।
सुरक्षित गर्भपतनको सेवा सुरु भएपछि सुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धी भएको डा.गिरिष अवस्थीले बताए । उनले घरेलु विधी, प्रतिवन्धित औषधिको सेवन गरेर गर्भपतन गर्ने महिलाको तथ्यांक सार्वजनिक हुन नसकेको बताए ।
महिलाहरु समाजिक तथा साँस्कृतिक बाध्यताका कारण अझैपनि स्वास्थ्य संस्थामा आएर सुरक्षित गर्भपतन गराउन नसकेको जिल्ला समन्वय समिति सभापति रामबहादुर ऐरले बताए । उनले स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउँदा गाउँ घरमा अझै पनि नराम्रो दृष्टीकोणले हर्ने समस्या भएको बताए ।
त्यस्तै, जिल्लामा लिंग पहिचान गरेर असुरक्षित गर्भपतन गर्ने समस्या ठुलो रहेको दिपायलका सिलगढी नगरपालिकाका मेयर मन्जु मलासी बताउँछिन् । अधिकांश महिलाहरु भारतका बिभिन्न शहरमा पुगेर लिंग पहिचान गरी असुरक्षित गर्भपतन गराउने मलासीको भनाइ छ ।
निजी औषधि पसलले अबैधानिक रुपमा गर्भपतन गर्ने औषधि बिक्री वितरण गरिरहेको कार्यक्रमका सहभागीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्