
भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
दार्जिलिङ बन्द स्थगित भएपछि ‘पहाडकी रानी’ भन्ने नामबाट परिचित दार्जिलिङ र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि पहिलाजस्तै सामान्य र सुचारु भएको छ ।
पश्चिम बंगालबाट टुक्रिइ दार्जिलिङ र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य ‘गोर्खाल्यान्ड’को स्थापना हुनुपर्ने मुख्य माग राख्दै दार्जिलिङको गोर्खा जनमुक्ति मोर्चाको अगुवाइमा १०० दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलिरहेको थियो ।
गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता विमल गुरुङले पार्टीका अन्य नेताहरुसँग सल्लाह गरी एक रेडियो वक्तव्यमार्फत् अनिश्चितकालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गरेको जनाइएको छ ।
दसैं, तिहारजस्ता ठूला चाडपर्वलाई ध्यानमा लिइ सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ ।
गत मंगलबार केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आन्दोलनरत् नेताहरुलाई प्रजातान्त्रिक राष्ट्रमा जस्तोसुकै गम्भीर राजनीतिक समस्या पनि वार्ताद्वारा समाधान निकाल्न सकिने भन्दै आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिन आह्वान गरेका थिए ।
गोर्खाल्यान्ड आन्दोलन र दार्जिलिङ बन्द गत १०४ दिनदेखि चल्दै आइ त्यहाँको जीवन कस्टकर बन्दै आइरहेको थियो ।
आन्दोलन र बन्दको अवधिमा हिंसा भड्कँदा ११ जनाको ज्यान गएको र थुप्रै संख्यामा आन्दोलनकारीहरु घाइते भएका थिए ।
यसै अवधिमा व्यापारिक र पर्यटकीय गतिविधि ठप्प हुँदा दार्जिलिङले ठूलो आर्थिक क्षतिसमेत व्यहोर्नुपरेको थियो । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्