४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


नेपालको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीको ६ दशक, गुमेको साख जोगाउला ! (भिडियो)


0
Shares

नविन शर्मा

काठमाडौं, असार १७ । नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमले आज ६० औं वार्षिकोत्सव मनाएको छ ।

६० वर्षअघि अर्थात् सन् १९५८ जुलाईमा स्थापना भएको तत्कालीन शाही नेपाल वायुसेवा निगमले गणतन्त्र स्थापनापछि नेपाल वायुसेवा निगमका रुपमा सेवा दिँदै आएको छ । कम्पनीले आफ्नो ६० औं वार्षिकोत्सव मनाइरहँदा उसले आफ्नो अवस्थामा सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल वायुसेवा निगमसँग अहिले दुईवटा एयर बस, एउटा वाइडबडी र एउटा बोइङ विमान छन् । ती विमानबाट कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग ९ वटा साना विमान पनि छन् । ती विमानबाट कम्पनीले मुलुकका दुर्गम स्थानमा समेत सेवा पु¥याउँदै आएको छ ।

वायु सेवा निगमले आगामी डेढ महिनाभित्रै अर्को एउटा वाइडबडी विमान ल्याउने तयारी गरेको छ । त्यसपछि २ वटा एयरवस, २ वटा वाईडवडी र एउटा वोइङ जहाज हुनेछन् ।

निगमसँगै स्थापना भएको थाइल्यान्डको थाई एयरलाइन्सले आफ्नो उचाई जुन रुपमा कायम गरेको छ, त्यसको तुलनामा नेपाल वायुसेवाको विस्तार गति सुस्त देखिएको छ । तर पछिल्ला दिनमा कम्पनीले आफ्नो सेवालाई प्रभावकारी बनाउने पहल जारी राखेको छ ।

६० औं वार्षिकोत्सवका अवसरमा राजधानीमा गरिएको कार्यक्रममा नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले अब निगमले द्रुत गतिमा बजार विस्तार गर्दै लैजाने बताए । उनले विगतमा गुमेको साख फर्काउन निगमले जहाज थप्ने रणनीति अघि सारेको र आन्तरिक व्यवस्थापनको काम पनि द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपालले विश्वका ३८ मुलुकसँग द्वीपक्षीय हवाई सम्झौता गरेको छ । तर सबै गन्तव्यमा राष्ट्रिय ध्वजावाहक विमानले सेवा दिन सकेको छैन । सरकारले मुलुकमा ठूलो संख्यामा पर्यटन भित्र्याउने रणनीति अख्तियारी गरेको छ । त्यसका लागि पोखरा, लुम्बिनीलगायतका स्थानमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउन शुरु गरेको छ ।

तर नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज नहुँदा नेपाल आउन चाहने पर्यटक अन्य देशका विमान कम्पनीमा भर पर्दै आएका छन् । नेपालीहरुले पनि अन्य मुलुकमा जाँदा वा स्वदेश फर्कंदा विदेशी विमान नै चढ्नुपर्ने बाध्यता छ ।

सन् २०१७ मा करिब ९ लाख ४० हजार विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । सन् २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउने लक्ष्य निर्धारण भइसकेको अवस्थामा निगममा थपिने जहाजले यो लक्ष्य हासिल गर्न सहयोग पुग्ने आशा गरिएको छ ।

निगमभित्रका धेरै व्यवस्थापकीय समस्यालाई लिएर पटकपटक आलोचनासमेत हुँदै आएको छ । तर ६० वर्षे इतिहास बोकेको कम्पनीले आफ्ना अनुभवलाई सदुपयोग गर्दै आगामी दिनमा थप गुणस्तरीय र प्रतिस्पर्धी सेवा दिँदै गुमेको शाख फर्काउने अवसर लिन अब ढिला गर्नु हुँदैन ।

भिडियो रिपोर्ट हेर्नुहोस्