३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


आधुनिक सामग्रीको प्रयोग र कच्चा पदार्थ अभावले आरन पेशा संकटमा


0
Shares

तनहुँ, पुस २७ । तनहुँका दलित समुदायले जीविकोपार्जनका लागि अपनाउँदै आएको आरन पेशा संकटमा गर्न थालेको छ ।

आरन सञ्चालनका लागि आवश्यक गोल अर्थात् कोइला बनाउने काठ पाउन छाडेपछि यो पेशा संकटमा पर्दै गएको हो । खयर जातको काठलाई पोलेर गोल बनाइने गरिन्छ । सामुदायिक वनमा खयर काटेर गोल बनाउन प्रतिबन्ध लगाइएको र निजी वनको खयर कथ्था कम्पनीले महंगो मूल्यमा लैजाने गरेपछि गोल अभावमा आरन पेशा नै संकटमा परेको व्यवसायी टेकबहादुर विकले बताए ।

ब्यास नगरपालिका–१० का विकले लामो समयदेखि आरन पेशा गर्दै आएको भए पनि गोल अभावकै कारण आफ्नो पेशा संकटमा पर्न लागेको बताए । आरनमा फलामलाई पिटेर विभिन्न सामग्री बनाइने गर्दछ । तर, पछिल्लो समयमा प्लास्टिक तथा अन्य औद्योगिक वस्तुको तुलनामा महँगो पर्ने भएका कारण पनि तनहुँका आरन पेशा गरेर जीविकोपार्जन गर्ने दलित समुदायको पुर्ख्यौली पेशा थप संकटमा परेको हो ।

ग्रामीण बस्तीको दैनिक जनजीवनमा प्रयोग हुने हँसिया, कोदाली, बन्चरो, खुर्पालगायतका भान्सामा प्रयोग हुने भाँडावर्तनसमेत आरनमा बन्ने गरे पनि आधुनिकताको प्रभावले यसको प्रयोग घट्दै गएको छ ।

आरन पेशा गर्नेको श्रमको मूल्य र सामाजिक सम्मान पनि नहुने भएकाले युवा पुस्ताले यो पेशा अँगाल्न सकेका छैनन् ।