
चिकित्सकहरुको लापरवाही नियमन गर्न सरकारले कानुन वनाउने प्रक्रिया अगाडि बढाउने वित्तिकै चिकित्सकहरु काम छाडेर आन्दोलनमा उत्रिएपछि अस्पतालका सेवा प्रभावित भएका हुन् ।
सरकारले अस्पताल र उपचार सेवा नियमन गर्न ल्याउन खोजेको कानुन चिकित्सक विरोधी रहेको भन्दै सम्पूर्ण स्वास्थ्य संस्था ठप्प पारेपछि विरामीहरु उपचारै गर्न नपाई फर्कन वाध्य छन् ।
ओपीडी सेवा बन्द छ भन्दै अस्पताल पुगेका विरामीलाई सुरक्षागार्डले गेटबाटै फर्काइरहेका छन् ।
आकस्मिक सेवामा समेत विरामीलाई उपचार गर्न ल्याउँदा अन्यत्रै लैजाने सुझाव दिएको बिरामीका आफन्तहरु बताउँछन् ।
गत असोज २ गतेको मन्त्रिपरिषद् बैठकले अस्पतालमा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भइरहेको भन्दै त्यसको क्षतिपूर्ति डाक्टरले नै बेहोर्नुपर्नेसम्बन्धी कानुनको ड्राफ्ट बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।
त्यस लगतै चिकित्सकहरुको संस्था नेपाल मेडिकल एसोसिएसनले आन्दोलन गर्दै आईरहेका छन् ।
गत असोज ६ गतेदेखि उनीहरुले आफ्नो माग पूरा नभएसम्म देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङ्होम, क्लिनिक लगायतका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् ।
एक साताभन्दा लामो समयदेखि अस्पतालका सेवा ठप्प हुँदा बिरामीलाई सास्ती भएको छ ।
सरकारले दशैंका बेला अस्पतालका सेवा ठप्प नपार्न चिकित्सक संघलाई आग्रह गरेको भए पनि संघले अस्वीकार गरेको छ ।
संघले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार अमेरिकाबाट फर्किएलगत्तै चिकित्सकहरुको जायज माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तर उनले पनि चिकित्सकहरुसँग अहिलेसम्म वार्ता गर्नु भएको छैन । उपचारमा गराउन आएका बिरामीले तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्