२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


‘प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछिमात्रै मुख्यमन्त्रीका उम्मेदवार छनोट’ (भिडियो)


0
Shares

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि असोज अन्तिम सातामै दलहरुले उम्मेदवारको नामावली निर्वाचन आयोगलाई बुझाउनुपर्ने भएकाले रमाइलो गर्नुपर्ने दसैंमा पनि नेताहरुले फुर्सद पाएका छैनन् ।

स्थानीय तहको निर्वाचन सकिएलगत्तै दलहरु आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका छन् । दलहरुलाई अहिले उम्मेदवार छान्ने चटारो छ । त्यसैले दसैंमा पनि दलका नेताहरु उम्मेदवार छान्ने काममा व्यस्त छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाउन स्थानीय तहको पार्टी संयन्त्रलाई समयसीमा नै तोकेका छन् ।

यी प्रमुख तीन दलले उम्मेदवार छनोटको मापदन्डसमेत बनाइसकेका छन् । केन्द्रको सर्कुलरअनुसार दलका स्थानीय कमिटीहरुले पनि दसैं पर्वकैबीचमा उम्मेदवारको सिफारिस गरिरहेका छन् ।

दसैं सकिएलगत्तै केन्द्रले सिफारिसमा आएका उम्मेदवारहरुको नाम टुंग्याउनुपर्ने भएकाले विभिन्न पार्टीका तल्लो निकायलाई भ्याइ–नभ्याइ छ ।

तर, दलहरुले मुख्यमन्त्रीका उम्मेदवार छनोट गर्न ढिलाइ गर्ने भएका छन् । चुनावअगाडि नै मुख्यमन्त्रीका उम्मेदवारको निर्णय गर्दा पार्टीमा असन्तुष्टि चुलिने र अन्तर्घात हुने डरले दलहरु निर्वाचनपछिमात्रै मुख्यमन्त्रीको उम्मेदवार घोषणा गर्ने मनस्थितिमा छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले मुख्यमन्त्रीका उम्मेदवार छनोट गर्ने विषयमा छलफल नै सुरु नभएको बताए ।

नेकपा एमालेले पनि मुख्यमन्त्रीका उम्मेदवारको छनोटलाई प्राथमिकतामा राखेको छैन ।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछिमात्रै मुख्यमन्त्रीका उम्मेदवारको छनोट हुने बताए ।

माओवादी केन्द्र र अन्य दलहरुमा पनि मुख्यमन्त्रीका उम्मेदवारको विषयमा छलफल सुरु भइसकेको छैन ।

यद्यपि, सबै दलहरुमा मुख्यमन्त्रीका आकांक्षीले पार्टीभित्र ‘लबिङ’ भने सुरु गरिसकेका छन् । पार्टीभित्र मुख्यमन्त्री को बन्ने विषयमा विभिन्न धारणा आउनेक्रम भने सुरु भइसकेको छ ।

यस्तै, मधेसकेन्द्रित दलहरु पनि उम्मेद्वार छनोटको गृहकार्यमा लागिसकेका छन् । यद्यपि, मधेसकेन्द्रित दलमा पनि मुख्यमन्त्रीको उम्मेदवारका लागि औपचारिक छलफलले प्रवेश भने पाएको छैन ।

भिडियो हेर्नुहोस्