
सो सडकखन्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठकाअनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुनेछ ।
उनकाअनुसार बोलपत्र भइसकेका ती पुलको ठेकेदार चयनपछि निर्माणको काम अघि बढ्नेछ । अन्य १४ पुलका लागि नक्सांकनको काम भइरहेको छ ।
महाशाखा प्रमुख श्रेष्ठले भने–‘डिजाइन एन्ड बिल हुँदैछ । एक/आधा महिनामा काम सकेर टेन्डरमा जान्छौं ।’
हाल ठेक्का भइसकेका चार पुलमा नारायणगढबाट १२ किमि दासढुंगा, १६ किमि खानीपुल, २२ किमि मौरीपुल र २९ किमि जलबिरे छन् ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार सो सडकमा हाल रहेका पुल ६ मिटरमात्र चौडा छन् । अब बन्ने पुल ११ मिटर चौडा हुनेछन् ।
पुलको दुवैपट्टि छेउमा एक दशमलव पाँच मिटरका दरले फुटपाथ रहनेछ । नयाँ बन्ने पुलमा बीचको भागबाट दुई गाडी एकैसाथ आवत–जावत गर्नसक्नेछन् ।
पुराना पुललाई मर्मत गरी आवत–जावत गर्न मिल्ने अवस्थामा राखिनेछ ।
विभागका उपमहानिर्देशक श्रेष्ठले आउँदो दुई वर्षमा सबै पुल नयाँ बनिसक्ने बताए ।
पुल निर्माणका लागि झन्डै रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ । सोमध्ये आधा रकम नेपाल सरकार र आधा रकम विश्व बैंकले लगानी गर्नेछन् ।
विश्व बैंककै लगानीमा हाल सो सडक विस्तारको काम भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्