
संयुक्त राष्ट्र संघले सन् १९९० मा गरेको घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभर नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइने गरिन्छ ।
नेपालमा २७ लाखभन्दा बढी मानिस यस समूहमा पर्दछन् । ६० वर्ष माथिका नागरिकलाई ज्येष्ठ नागरिक मानिन्छ ।
नेपालमा ज्येष्ठ नागरिकका सीप, क्षमता र दक्षतालाई राज्य संयन्त्रले प्रयोग गर्न सकेको छैन । नेपालमा सामाजिक सुरक्षाको अवस्था कमजोर भएकाले ज्येष्ठ नागरिकको जीवन पनि निकै नै कष्टकर छ ।
जीवनको उत्तरार्धमा आर्थिक, सामाजिक, स्वास्थ्यका अतिरिक्त पारिवारिक विछोड र एक्लोपन नेपाली ज्येष्ठ नागरिकले ब्यहोर्दै आएका समस्या हुन् ।
यसै अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई मर्यादित एवं सम्मानित गर्दै उहाँहरुको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गरेकी छिन् ।
जीवनका अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभव समाजोपयोगी कार्यमा योगदान पुर्याउनुभएका ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य सम्पत्ति भएको उनले उल्लेख गरिन् ।
ज्येष्ठ नागरिकको सीप मुलुक निर्माणमा प्रयोग गर्ने, ज्येष्ठ नागरिकबाट असल संस्कृति र संस्कार भावी पुस्तामा हस्तान्तरण गराउने, सभ्य समाज निर्माणमा ज्येष्ठ नागरिकको योगदान स्वीकार्ने एवं नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण सृजना गर्नु नै ज्येष्ठ नागरिक दिवसको महत्व हुने सन्देशमा उल्लेख छ ।
नेपालको संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको र सम्मानस्वरुप राज्यका तर्फबाट सामाजिक सुरक्षा भत्ता एवं विभिन्न सेवा सुविधा प्रदान गरिंदै आएकामा उनले सराहना गरिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको शुभकामना सन्देशमा परापूर्वकालदेखि चल्दै आएको आफूभन्दा ठूलालाई सम्मान र आदर गर्ने संस्कारलाई अक्षुण राख्नुपर्नेमा जोड दिएका छन् ।
ज्येष्ठ नागरिकका हकहितको संरक्षण तथा सम्वद्र्धनका लागि सरकार तयार रहेको उनले उल्लेख गरेका छन् ।
उनले ज्येष्ठ नागरिकका अनुभव हाम्रा लागि पथप्रदर्शक र अमूल्य सम्पत्ति बनेको पनि बताएका छन् ।
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्न राज्यले दीर्घकालीन नीति बनाउनुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्