१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


यस्तो छ दलहरुको तालमेल रणनीति, एमालेको पहिलो रोजाईमा माओवादी केन्द्र


0
Shares

 

आगामी निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलहरु तालमेलको रणनीतिमा लागेका हुन् । उनीहरुले अनौपचारिक वार्ता र छलफलसमेत सुरु गरिसकेका छन् ।

स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमालेले आगामी मंसिरमा हुने निर्वाचनमा वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिसँग तालमेल गर्ने रणनीति लिएको छ ।

एमालेले तालमेलका लागि सत्तारुढ घटक नेकपा माओवादी केन्द्रलाई पहिलो प्राथमिकतामा राखेको छ ।

एमालेका नेता प्रदिप ज्ञवालीले सत्तागठवन्धन भत्काउन मात्र नभई राष्ट्रिय एकता बलियो वनाउन आफूपछिको शक्तिसँगको तालमेललाई प्राथमिकतामा राखेको बताए ।

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले भने आगामी निर्वाचनमा कोसँग तालमेल गर्ने भनेर औपचारिक निर्णय गरिसकेको छैन ।

नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्नुपर्ने आवाज वलियो छ ।

तर, नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर प्रकाशशरण महतले राष्ट्रिय मुद्धामा समान दृष्टिकोण भएका दलहरुसँग स्थानीय आवश्यकता अनुसार तालमेल हुनसक्ने बताए ।

माओवादी केन्द्रभित्र पनि तालमेल नगरी एक्लै चुनाव लड्नुपर्ने मत बलियो छ । तालमेल गर्नै परे परिर्वतन पक्षधरसँग गर्ने र सवै दलसँग तालमेलको ढोका खुल्ला राख्ने माओवादी केन्द्रको रणनीति छ ।

प्रदेश नम्बर २ को स्थानीय चुनावमा तेस्रो स्थान हासिल गरेको राष्ट्रिय जनता पार्टी नेपालले संघीय समाजवादी फोरमसँगको तालमेललाई प्राथमिकतामा राखेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिष सुमनले आगामी निर्वाचनमा मधेश केन्द्रीत दलहरुसँगको तालमेललाई पहिलो प्राथमिकतामा राखेको बताए ।

यता, प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा दोस्रो शक्ति बनेको संघीय समाजवादी फोरम नेपालले भने संविधान संशोधन, संघीयतालगायतका परिवर्तनलाई आत्मसाथ गर्ने शक्तिसंग मात्र तालमेल गर्ने रणनीति बनाएको छ ।

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन र संघीयता पक्षधर शक्तिसँग मात्र तालमेल हुने जिकिर गरे ।

आगामी मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय अनुसार दलहरु चुनावी रणनीतिमा लागेका हुन् ।