१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


जापानी विदेशमन्त्री प्रस्थान


0
Shares

काठमाडौं, पुस २६ । नेपालको दुईदिवसीय औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो बिहीबार बिहान फ्रान्सतर्फ प्रस्थान गरे ।

आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आएका मन्त्री कोनोले बिहीबारै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्ला–बेग्लै शिष्टाचार भेट गरेका थिए ।

परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा बुधबार भएको प्रतिनिधिमन्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका साथै पारस्परिक हित र चासोका विषयमा विचार–विमर्श भएको थियो ।

वार्तामा २५ वर्षपहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने सहमतिका साथै नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण तथा नेपाली श्रमिकलाई जापानमा रोजगारीमा पठाउन दुवै मुलुकबीच सहमति भएको थियो ।

मन्त्री कोनोलाई नेपालका लागि जापानका राजदूत मासामिची साइगो र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । रासस