
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सर्वसम्मतरुपमा उम्मेदवार बनेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावल अछाम निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत् उम्मेदवार बनेका छन् ।
कांग्रेसका प्रदेश नम्बर–७ का प्रभावशाली नेताहरु दिलेन्द्रप्रसाद बडू दार्चुला, नारायणप्रकाश साउद कन्चनपुर क्षेत्र नम्बर–२ र रमेश लेखक कन्चनपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिसमा परेका छन् ।
प्रधानमन्त्री देउवा २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका थिए । उनी २०६४ सालको निर्वाचनमा डडेल्धुरासँगै तत्कालीन कन्चनपुर क्षेत्र नम्बर–४ र २०७० को निर्वाचनमा कैलाली क्षेत्र नम्बर–६ बाटसमेत निर्वाचित भएका थिए ।
स्थानीय तहको निर्वाचनमा डडेल्धुरा सदरमुकाम रहेको अमगरगढी नगरपालिकामा उनको पार्टी कांग्रेसले पराजय व्यहोरोपछि देउवाको आलोचनासमेत भएको थियो ।
अछाम क्षेत्र–१ बाट सर्वसम्मत् प्रतिनिधिसभा उम्मेदवार छनोट भएका एमाले उपाध्यक्ष रावल सोही निर्वाचन क्षेत्रमा गत संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए ।
त्यसैगरी, प्रधानमन्त्री पत्नी डा. आरजु देउवा राणा कैलालीको क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्ने सम्भावना छ ।
नेकपा माओवादी केन्द्रका प्रदेश नम्बर–७ का प्रभावशाली नेता लेखराज भट्ट कैलाली क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । यसअघिको निर्वाचनमा उनी कैलालीबाटै पराजित भएका थिए ।
यसअघि, चारओटा निर्वाचन क्षेत्रमा कब्जा जमाएको कांग्रेस कन्चनपुरले यसपटक पनि निर्वाचित चारै सांसदलाई यहाँबाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको कांग्रेस कन्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिए ।
क्षेत्र नम्बर–२ बाट सिफारिस भएका कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने कांग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखक हाल क्षेत्र नम्बर–३ बाट उम्मेदवार बन्ने प्रवल सम्भावना छ । उनी तत्कालीन क्षेत्र नम्बर–४ (हालको ३) बाट निर्वाचित भएका थिए ।
सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाबाट प्रतिनिधिसभाका लागि सिफारिस कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभाका लागि जिल्लाबाट उम्मेदवारमा सिफारिस भएका छन् । अघिल्लो निर्वाचनमा बडू एमालेका उम्मेदवारसित पराजित भएका थिए ।
त्यसैगरी, प्रतिनिधिसभाकै लागि कांग्रेस डोटी जिल्लाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर सिफारिस भएका छन् ।
हाल वाणिज्य राज्यमन्त्री रहेका नरबहादुर चन्दलाई कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारकारुपमा सिफारिस गरेको छ ।
सुदूरपश्चिमबाट आ–आफ्नो पार्टीबाट सिफारिस भएका शीर्ष नेताहरुमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र एमाले नेता रावलमात्रै आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत् उम्मेदवारका लागि सिफारिस भएका छन् भने बाँकी नेताहरुसँगै अन्य जिल्लास्तरका नेताको नाम पनि अधिकांश पार्टीले केन्द्रमा सिफारिस गरेका छन् ।
बझाङ, बाजुरालगायतका पहाडी जिल्लाबाट पनि उम्मेदवार सिफारिस हुनेक्रम जारी छ ।
कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका पार्टी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोट गर्नमै व्यस्त छन् ।
हालसम्मको सिफारिस विवरणमा राष्ट्रिय राजनीतिमा सक्रिय यहाँका नेताहरुको सिफारिस सबै पार्टीले प्रतिनिधिसभाकै लागि गरेको देखिएको छ ।
प्रदेश नम्बर–७ सुदूरपश्चिममा हाल १६ ओटा निर्वाचन क्षेत्र निर्धारण गरिएका छन् । सबैभन्दा बढी कैलालीमा पाँच, कन्चनपुरमा तीन, अछाममा दुई र डोटी, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डडेल्धुरामा एक÷एक क्षेत्र निर्धारण गरिएका छन् ।
यसअघि, २१ ओटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा कांग्रेस र एमालेको नतिजा अग्रस्थानमा थियो । माओवादीले प्रत्यक्षतर्फ २०७० सालको निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न सकेको थिएन ।
केही दिनअघिसम्म प्रदेश नम्बर–७ मा आगामी निर्वाचनमा प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको भएपनि परिवर्तित राजनीतिक परिवेशले माहोल मोडिएको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यहाँ १४ लाख मतदाताले मतदान गर्नेछन् । रासस
प्रतिक्रिया दिनुहोस्