११ असार २०८२, बुधबार | Thu Jun 26 2025


एमाले अछामले उम्मेदवार सिफारिस गर्‍यो, भीम रावल सर्वसम्मत् (नामावली)


0
Shares

सहमतिका आधारमा प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर–१ मा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावलको नाम सर्वसम्मतरुपमा सिफारिस गरिएको छ । रावल हाल सो क्षेत्रका सांसदसमेत हुन् ।

समानुपातिकतर्फ कृष्णबहादुर शाह, जंगबहादुर नेपाली र मनाकुमारी साउँद (मीना) रहेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा प्रत्यक्षतर्फ यज्ञबहादुर बोगटी, शिवप्रसाद उपाध्याय र तारा कडायतको नाम सिफारिसमा परेको छ ।

समानुपातिकतर्फ भने भरत साउद, चन्द्र बोहरा र दुर्गा विक सिफारिसमा परेको एमाले अछामका प्रचार विभाग प्रमुख भीम जनालाले जानकारी दिए ।

बोगटी एमालेका जिल्ला सचिव हुन् भने उपाध्याय जिल्ला सचिवलाय र कडायत जिल्ला सदस्य हुन् । ०६४ को निर्वाचनमा उपाध्याय तत्कालीन एकीकृत नेकपा माओवादीसँग पराजित भएका थिए ।

साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका जोडिएको प्रदेशसभामा प्रत्यक्षबाट गोविन्दबहादुर कुँवर तथा समानुपातिकतर्फ प्रकाश शाह, अमृता खड्का र राम आउजीको नाम सिफारिसमा परेको छ ।

यस्तै, मेल्लेख, बान्नीगढी–जयगढ र रामारोशन गाउँपालिका समेटिएको प्रदेशसभामा केशर साउद, जगत रावल, लक्ष्मी उपाध्याय (भट्टराई) तथा समानुपातिकतर्फ कृष्णप्रसाद जैसी, निर्मला रावल, मानबहादुर गिरी सिफारिस भएका छन् ।

मंगलसेन नगरपालिका, ढकारी गाउँपालिका र कमलबजारका केही वडा समेटिएको प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ बलबहादुर सोडारी, धर्मराज शाही, निर्मलाकुमारी साउद तथा समानुपातिकतर्फ रत्नप्रसाद ढुंगाना, भीम जनाला र देवकला चलाउनेलाई सिफारिस गरिएको छ ।

पञ्चदेवल–विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका र कमलबजार नगरपालिकाका केही वडा समेटिएको प्रदेशतर्फको अर्को निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ कटकबहादुर साउद, भीमबहादुर विष्ट, गौमती शाहीलाई सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ बमबहादुर बिसी, टेकबहादुर शाही र शारदा विष्टको नाम सिफारिस भएको एमाले अछामले जानकारी दिएको छ ।

पिछडिएको क्षेत्रको समानुपातिकतर्फ गणेश सुनार, पशुपति कुँवर र अल्पसंख्यकबाट केशर मियाँको नाम सिफारिसमा परेको छ ।

प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिसमा परेका उम्मेदवारको नामावली बिहीबार जिल्ला कमिटीले पार्टीको ७ नम्बर प्रदेश कमिटीमा पठाएको प्रचार विभाग प्रमुख जनालाको भनाइ छ ।

एमाले उपाध्यक्ष भीम रावल संयोजक रहेको उक्त कमिटीले ७ नम्बर प्रदेशका जिल्लाहरुबाट आएका उम्मेदवाहरुको नामावली छनोटसहित पारित गर्नेछ ।

नेपाली कांग्रेसले क्षेत्रीय कार्यसमितिबाट आएको १२० जनाको नाम नै केन्द्रीय कार्यालयमा बुधबार पठाइसकेको छ ।

माओवादी केन्द्रलगायत दलहरुले भने प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेका छैनन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा मालेलगायत साना दलहरुले पनि उम्मेदवार छनोट प्रक्रिया सुरु गरेका छैनन् ।