Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


यस्तो रह्यो ‘ए’ डिभिजन लिग फुटबल


0
Shares

काठमाडौं, पुस २५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको ४१औं संस्करण मंगलबार सकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा नयाँ नेतृत्व आएसँगै पछिल्लो चार वर्षमा पहिलोपटक भएको लिग आलोचनाबाट टाढा रहन भने सकेन ।

मनाङ–मर्स्याङ्दी क्लबलाई कीर्तिमानी आठौंपटक उपाधि । कुल ९१ खेलमा २२८ गोल । २६४ ओटा पहेंलो कार्ड र १० ओटा रातो कार्ड ।

तथ्यांकमा यस्तै रह्यो, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको यो संस्करण ।

कर्माछिरिङ शेर्पाको नयाँ नेतृत्वसँगै हौसिएको अखिल नेपाल फुटबल संघले कार्यकालको पहिलो वर्षमै लिग आयोजना गर्नुलाई सकारात्मकरुपमा लिनुपर्छ ।

क्लबहरुलाई मनाउन एन्फाले यो लिगबाट कुनैपनि टोली दोस्रो श्रेणीको फुटबल ‘बी’ डिभिजनमा नझर्ने व्यवस्था गर्‍यो । ‘संसारमै नभएको लिग’ भनेर यसको चर्को आलोचनासमेत भयो ।

हुन पनि यो विश्व फुटबल र विशेषगरी लिग फुटबलको मर्मविपरीत नै थियो । तर, नेपालमा लामो समय एन्फा विवादले भद्रगोल बनाएको फुटबललाई गति दिन केही सम्झौता गर्नैपरेको एन्फाको स्वीकारोक्तिपछि फुटबलप्रेमीहरुले यसलाई पनि सहजै लिए ।

सुविधासम्पन्न रंगशाला नहुनुको पीडाले लिग फुटबल निकै आक्रान्त बन्यो ।

सातदोबाटामा रहेको एन्फा मैदानको कृत्रिम पिचमा खेल्नुपर्दा खेलाडीहरुलाई निकै खल्लो लाग्यो ।

दशरथ रंगशालालाई फुटबलको मन्दिर मान्ने पुरानो पुस्ताका लागि कृत्रिम पिच असह्य नै थियो ।

लिगमा सहभागी विदेशी खेलाडीहरुले लगातार निर्णायक प्रदर्शन गरिरहँदा नेपालमा खेलाडीहरुको वास्तविक स्रोत मानिने तीनओटा विभागीय टोलीहरु लिग सिजनभर आफ्नो लय समाप्त संघर्षरत् देखिए ।

विदेशी खेलाडी नहुनुको असर त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबको प्रदर्शनमा टड्कारोरुपमा देखियो ।

यसपटकको लिग केही कारणले विशेष रह्यो । प्रत्येक खेल जित्ने टिमले ५० हजार रुपैयाँ पाउने प्रावधानले हरेक खेलको महत्व बढायो ।

उपाधिवापत ५० लाख जितेको मनाङले जितको बोनसवापत थप ६ लाख रुपैयाँ हात पार्‍यो ।

लिग च्याम्पियन मनाङले तीन विधामा उत्कृष्ट पुरस्कार जित्यो । मनाङबाट उत्कृष्ट गोलकिपरमा विशाल श्रेष्ठ, मिडफिल्डरमा हेमन गुरुङ र प्रशिक्षकमा सुमन श्रेष्ठ रहे ।

यस्तै, डिफेन्डरमा थ्रीस्टार क्लबका रन्जित धिमाल र फरवार्डमा आर्मीका भरत खवास उत्कृष्ट बने ।

लिगमा उत्कृष्ट प्रदर्शन गरेका यी खेलाडीहरुले अझै स्तरीय प्रदर्शन गर्न प्रेरणा मिलेको अनुभव सुनाए ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले पहिलो प्रयासमै क्लबलाई उपाधि दिलाएर क्षमतावान प्रशिक्षकहरुको सूचीमा आफूलाई पनि उभ्याए ।

संकटालाई लिगमा दोस्रो बनाउन सफल प्रशिक्षक सल्यान खड्गीको भूमिका पनि तारिफयोग्य रह्यो ।

तमाम उतार–चढावका बाबजुद् चार वर्षपछि नेपाली फुटबलले नयाँ लिग च्याम्पियन पाएको छ ।

भिडियो हेर्नुहोस्