१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सफाइ महाअभियान: उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन


0
Shares

वाग्मती सफाइ महाअभियानको २३० औं हप्तामा शनिबार पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ४५० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए ।

सफाइमा पूर्व मुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाल, अधिकारसम्पन्न वाग्मतीका अध्यक्ष नरेन्द्रबहादुर बस्नेत, पूर्व सचिव कृष्णचन्द्र पौडेललगायतको सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९० हप्तामा शनिबार हनुमानघाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनीमैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइको १८८ औं हप्तामा शनिबार रातोपुलदेखि कालोपुलसम्मको नदी किनारमा रोपिएका बिरुवा गोडमेल गरी जम्मा भएका फोहर सफा गरियो । सफाइमा फ्लोरिकल्चर एशोसियशन नेपालका समेत ४०० भन्दा बढीको सक्रियता थियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

विष्णुमती सफाइको १५९ औं हप्तामा बालाजु माछापोखरी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० जनाभन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए ।
मनोहरा नदी सफाइको २८ औं हप्तामा शनिबार जडीबुटीस्थित बिपी आँखा अस्पताल क्षेत्र वरपर सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

चक्रपथ सफाइको २६ औं हप्तामा वसुन्धरा क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यसैगरी, मीनभवन आलोकनगर सफाइको २६ औं हप्तामा एक मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

त्यसैगरी, चक्रपथको सीतापाइला सफाइको आठौं हप्तामा सीतापाइलादेखि हलचोकसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेत, कलाकार श्रीकृष्ण सिम्खडालगायत अभियन्ताको सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

यसैगरी, इन्द्रमती नदी सफाइको छैटौँ हप्तामा कलंकी मन्दिर आसपासको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ ।

त्यसैगरी, विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा सफाइ गरी रंगरोगन गरेर टल्काउने अभियानमा लागेका कोष, वाग्मती सफाइ महाअभियान, खेम्स क्लिनिङ अष्ट्रेलियालगायत संघ संस्थाको सहभागितामा आइतबार बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म विशेष सफाइ गरिने अभियन्ता गोविन्द काफ्लेले बताए ।

सफाइमा सक्रिय हुन चाहनेलाई वाग्मती सफाइ महाअभियानले सहभागी हुन आह्वान गरेको छ । रासस