Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


सडकमा रात गुजार्नेको उद्धार अभियान (भिडियो रिपोर्ट)


0
Shares

गृष्मा राजभण्डारी र उत्तम मानन्धर (इमेज)

काठमाडौं, पुस २४ । कुनैपनि नागरिकले मागेर जीवन गुजारा गर्न नपरोस् अनि सडकपेटीमा रात बिताउनु नपरोस् भनेर उनीहरुको उचित व्यवस्थापन र जीवनरक्षासँग जोडिएका मानव सेवाहरु हुने गरेका छन् ।

यो अभियाननमा सक्रिय विभिन्न परोपकारी संस्थाहरुको भीडमा मानव सेवा आश्रमले पनि सडकपेटीमा रात गुजार्ने व्यक्तिहरुलाई आफ्नो आश्रममा ल्याउने अभियान तीव्र पारेको छ ।

रातको समयमा खुला आकाशमुनि सडकको चिसो सिंढी वा सार्वजनिकस्थलमा कस्टपूर्ण आश्रय लिन बाध्य मानिसहरुलाई मानव सेवा आश्रमले आफ्नो संरक्षणगृहमा ल्याएको छ ।

जाडो महिना सुरु भएपछि सडकपेटीमा रात बिताउनेहरुको चिसोले कठ्यांग्रिएर मृत्यु हुन थालेपछि मानव आश्रमले प्रहरीको समन्वयमा यसरी उद्धार सुरु गरेको हो ।

काठमाडौंको वसुन्धारा र बूढानीलकन्ठमा रहेको आश्रममा अहिले ११५ जना व्यक्ति रहेका छन् । उनीहरुमध्ये परिवारमा बस्नसक्नेलाई परिवारको जिम्मा लगाएर पठाइने तथा असहाय, अशक्तलाई संरक्षण गरी आश्रममा नै राखिएको छ ।

आश्रममा ल्याइएकाहरु कुनै न कुनै समस्या वा पीडामा देखिन्छन् भने ९० प्रतिशत त मानसिक रोगी छन् ।

आश्रममा ल्याइएका बालक हुन् वा वृद्धवृद्धा जुनसुकै उमेर समूहका व्यक्तिको पनि सडकमा रात काट्न बाध्य हुनुपर्दाको भोगाइ भने आ–आफ्नै छ ।

पेट पाल्नकै लागि दिनभर बाटोमा बसी मागेर खाने गरेकाहरुको दिनचर्यामा आश्रममा आएपछि स्वाभाविकरुपमा परिवर्तन आएको छ ।

सुधारगृहकोरुपमा पनि रहेको आश्रममा रहेका सबैको खाने, लगाउने खर्च सर्वसाधारणको सहयोगमा नै जुटाउने गरेको आश्रमका काठमाडौं जिल्ला संयोजक सुमन बर्तौलाले बताए ।

परोपकारीकार्यका लागि स्थापना गरिएको यस आश्रमको घरभाडा पनि सर्वसाधारणको सहयोगमा तिरिँदै आएकोमा गत महिना काठमाडौं महानगरपालिकासँग घरभाडा उपलब्ध गराउने सम्झौता भएको छ ।

आश्रममा स्वयंसेवककारुपमा स्वदेशी र विदेशीले सहयोग पुर्‍याउँदै आएका छन् ।

आश्रममा आएर व्यवस्थित जीवनयापन गर्दै आएका अधिकांशले आफूहरु  सडकपेटीमा सुतेको स्वीकार्न भने तयार छैनन् ।

आश्रममा रहेका अधिकांश वृद्धवृद्धा रमाएको देखिए तापनि मानसिक सन्तुलन गुमाएका र मादकपदार्थ सेवन गर्नेहरुलाई सामान्य जीवनमा फर्काउन भने गाह्रो बनिरहेको छ ।

पछिल्लो समयमा सडकमा असहाय र अशक्त घट्दै गएपनि माग्ने पेसा बनाएर हिँड्ने, मदिरा पिएर र मजदुरी गरेर सडकमै सुत्ने अवस्था भने चुनौतीपूर्ण बनेकाले यसको सही व्यवस्थापन भने जरुरी देखिन्छ ।

भिडियो हेर्नुहोस्