Logo १३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026


राजविराजमा बैंकमा राख्न लग्दै गरेको नौ लाख ५० हजार लुटियो


0
Shares

राजविराज नगरपालिका–९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट लिएको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले राजविराजको मुख्य बजारबाटै लुटेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

रकम रावा बैंकबाट लिई नजिकैको सनराइज बैंकमा राख्नका लागि छाप बनाउन सप्तकोशी माइक्रोबस स्टेशननिर एउटा पसलमा जाने क्रममा आएको अज्ञात व्यक्तिले ब्यागमा पैसा बोकेका मियाका छोराको घाँटीमा फोहर दलेर भागेको पीडितले जनाएका छन् ।
हलिमा खातुनका नाममा रहेको १९०२५ नंको खाताबाट निकालिएको रकमबाट आउँदो तिहारमा मलेठस्थित नहरचोकमा मियाँले हार्डवेयर पसल सञ्चालन गर्न लागेका थिए ।

यसैबीच रकम लुटेको आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रकम लुटेर फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । रासस