
विराज रोस्यारा/ईमेज
कैलाली । कैलालीको मोहनापुलदेखि अत्तरियासम्मको सडकखण्डमा निर्माण गर्न थालिएको कल्भर्टको स्थानीयले विरोध गरेका छन् ।
निर्माणाधीन ६ लेनको सडकमा कल्भर्ट बनाउँदा आसपासका घरमा पानी पस्ने भएपछि स्थानीय असन्तुष्ट भएका हुन् ।
पानीको निकास नै नभएको ठाउँमा कल्भर्ट नबनाउन स्थानीयले माग गरेका छन् ।
मोहनापुल देखि अत्तरियासम्म निर्माण भइरहेको ६ लेन सडकमा पानी निकासका लागि २२ वटा कल्भर्ट निर्माण गरिँदैछ तर कल्भर्टको दुवैतिर घर भएकाले पानीको निकास भने छैन ।
नाला नै नरहेको ठाउँमा कल्भर्ट निर्माण गर्नु उचित नभएको भन्दै स्थानीयले आवाज उठाइरहेका छन् ।
तर सम्बन्धित पक्षले यसप्रति कुनै वास्ता नै नगरेको स्थानियको गुनासो छ ।
धनगढी उपमहानगरपालिका–१३ की स्थानीयवासी लक्ष्मी भट्टले निर्माण भईरहेको कल्भर्टमा पानी निकासको ठाउँ नभएकाले वर्षायाममा घर डुब्ने चिन्ता लागेको बताउँछिन् ।
उता, आयोजनाले भने यसमा नापी कार्यालय नै दोषी रहेको भन्दै आफ्नो बचाउ गरेको छ ।
आयोजनाका सव–इञ्जिनीयर भूपेन्द्र बडालले आफूहरुले पहिले कल्भर्ट रहेकै ठाउँमा बनाउन थालेको बताए ।
१० पटकसम्म नापी कार्यालयलाई पत्राचार गरेपनि कुनै जवाफ नआएकाले काम जारी राखेको सव–इञ्जिनीयर बडालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्