
काठमाडौं, पुस २३ । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्बित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमबार चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
आदेशमा भनिएको छ–‘चौधरीले आरोपित कसुर गरेको भनी विश्वास गर्नसकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरेबमोजिम हुनेगरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्नेगरी उच्च अदालत दीपायल र जिल्ला अदालत कैलालीको आदेश मनासिव देखिन्छ ।’
जिल्ला अदालतको २०७४ फागुन १४ गतेको आदेशविरुद्ध चौधरीले उच्च अदालत दीपायलमा मुद्दा दायर गरेका थिए ।
सो अदालतको वि.सं. २०७४ चैत २२ गतेको आदेशविरुद्ध २०७५ असार ५ गते सर्वोच्च अदालतमा उनी गएका थिए ।
चौधरीलाई २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित ८ जनाको हत्या भएको घटनाको मुख्य आरोपी मानिएको छ ।
सो घटनापछि फरार रहेकै अवस्थामा चौधरी कैलाली क्षेत्र नम्बर–१ मा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट विजयी भएका थिए ।
चौधरीले यही पुस १९ गते सभामुख कृष्णबहादुर महराबाट शपथसमेत लिए । रासस
प्रतिक्रिया दिनुहोस्