
बासुदेव बर्मा
कपिलवस्तु, पुस २३ । विश्व सिमसार क्षेत्र सूचिकृत जगदिशपुर तालमा आउने विदेशी चराहरु असुरक्षित हुन थालेका छन् । साईबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशबाट चिसो छल्न यहाँ आउने चराहरु बढ्दो चोरी शिकारीका कारण असुरक्षित हुन थालेका हुन् ।
जिल्लाको सदरमुकाम तौलिहवादेखि करीब ११ किमी उत्तर कपिलवस्तु नगरपालिका–९ मा पर्र्ने तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् ।
त्यस्तै यहाँ विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाईने नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । १५७ हेक्टरमा फैलिएको ताल कृत्रिम रुपमा बनाईएको नेपालकै सबैभन्दा ठूलो ताल हो । तर पछिल्लो समय तालमा रातिका समय बिषादी हालेर चरा मार्ने क्रममा बृद्धि भएको छ ।
फ्युराईन नामक बिषादीको सुई लगाईएका फट्याग्रा खाँदा तालमा मडुल र सिंह जुरे जातका २१ चरा मरेका छन् । तालमा सञ्चालित डुङ्गाको निगरानी गर्दै आएका स्थानीय मोहनलाल राजभरले आफुले दुरबिनले हेर्दा बिषादी खाएर चरा मरेको भेटेपछि सबैलाई खबर गरेको बताए ।
बाणगंगा सिँचाई प्रणालीको नहरहरुमा मर्मत सम्भार हुँदा ताल सुकेर चोरी सिकारी बढेर तालका चरा लोप हुने खतरा बढेको स्थानीय जनार्दन बारीले बताए ।
तालमा हुने चोरी शिकारी रोक्न स्थानीय तह, स्थानीय प्रशासन र सरोकारवाला गम्भिर हुनु पर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्