Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन सरकारमा सहभागी भयौं : उपप्रम थापा


0
Shares

ऊर्जा मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको बताए ।

‘त्यसबेला पनि मधेसवादी दलले सरकार छोडेपछि अल्पमतमा परी चुनाव नहुने वातावरण बनेको थियो, हामी सरकारमा गएर चुनावको माहोल बनायौं, अहिलेपनि सरकारको साझेदार दल माओवादी प्रतिपक्षी गठबन्धनमा मिसिएपछि चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन सरकारमा सहभागी भएका हौं’–पदभार ग्रहणपछि सन्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले भने ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानबमोजिम तोकिएकै समयमा चुनाव हुने प्रतिबद्धता आफूसँग पटक–पटकको भेटमा जनाएको बताउँदै ‘प्रधानमन्त्री देउवाको जानकारीमा चुनाव नगराउने षड्यन्त्र भइरहेको सूचना आएपछि उहाँकै आग्रहमा चुनावको वातावरण नबिगार्न आफ्नो दल सरकारमा सहभागी भएको हो’–भने ।

चुनावसम्म अहिलेकै कार्ययोजना अघि बढाउने, नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा विद्युत्भार कटौती (लोडसेडिङ) हुन नदिने, हाल सन्चालित आयोजनालाई निरन्तरता दिनेलगायत योजनाकाबारेमा जानकारी दिँदै उपप्रधानमन्त्री थापाले अन्य दलले जस्तोसुकै गठबन्धन गरेर सरकारमा गएपनि चर्चा नहुने तर राप्रपा सरकारमा जानेबित्तिकै विभिन्नखाले हल्ला चलाइने गरेको बताए ।

वि.सं. २०६२/६३ को परिवर्तनपछि राप्रपा तेस्रोपटक सरकारमा सहभागी भएको छ ।

वाम गठबन्धपछि प्रजातान्त्रिक शक्तिकाबीचमा सहकार्य र एकता अनिवार्य बन्न गएको पनि उनले बताए । रासस