
आगामी मंसिर १० गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत् पहिलो चरणको निर्वाचनका लागि दलहरुले शुक्रबार (आजैं उम्मेदवार चयन गरिसक्ने गरी गृहकार्यमा जुटेको जनाएका छन् ।
आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेस र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ ।
पहिलो चरणमा सम्पन्न हुने निर्वाचनका लागि आयोगले यही कात्तिक ५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।
दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति कात्तिक १६ गते रहेको छ ।
नेपाली कांग्रेसले शुक्रबारै उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ । केही दिनदेखि निरन्तर बस्दै आएको कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले सबै उम्मेदवारको नाम टुंगो लगाउने नेता एनपी साउदले जानकारी दिए ।
कांग्रेसले यसअघि केही जिल्लाका उम्मेदवारको नाम टुंगो लगाइ सार्वजनिकसमेत गरिसकेको छ ।
शनिबार (भोलि) कात्तिक ४ गते भाइटीका भएकाले दलहरु शुक्रबारै उम्मेदवार टुंगो लगाउने गरी कसरतमा जुटेका हुन् ।
मुलुकमा यतिखेर प्रमुख सत्तारुढ दल कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन र प्रमुख विपक्षी दल नेकपा एमालेको नेतृत्वमा वाम गठबन्धन बनाउने कसरतमा अन्य दलसहित गृहकार्य र बहस सुरु भएको छ ।
यसपटक दलहरुबीच भएका चुनावी गठबन्धनका कारण अन्य दललाई पनि मिलाउनुपर्ने भएकाले उम्मेदवार चयन गर्न सकस भएको हो ।
एमालेले पनि शीघ्र उम्मेदवार टुंगो लगाउने जनाएको छ । उम्मेदवारको टुंगो लगाउने गरी सो पार्टीको नेतृत्वमा गठन भएको वाम गठबन्धनअन्तर्गत् एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक जारी रहेको र सम्भवतः शुक्रबारै उम्मेदवार टुंगो लगाउने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधिसभाका लागि निर्वाचन हुनेछ ।
त्यस्तै, सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेशसभा सदस्यका लागि निर्वाचन हुनेछ ।
त्यसैगरी, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा प्रजातान्त्रिकलगायत दल पनि उम्मेदवार चयन गर्न व्यस्त छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने दलहरुले यसअघि असोज २७ गते नै आ–आफ्नो पार्टीको बन्दसूचीको नामावली आयोगमा बुझाइसकेका छन् ।
निर्वाचनको तयारीका लागि आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका आवश्यक व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए ।
आयोगले समानुपातिक निर्वाचनका लागि शुक्रबारसम्म एक करोड मतपत्र छापिसकेको जनाएको छ ।
साथै, अन्य निर्वाचन सामग्री सम्बन्धित क्षेत्रमा पुर्याउने, निर्वाचन सचेतना कार्यक्रम जनस्तरसम्म लैजाने, निर्वाचन अधिकृत नियुक्त गर्नेलगायत सम्पूर्ण तयारी भएको आयोगले जनाएको छ ।
संविधानको नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लाका कुल ७५३ ओटा स्थानीय तहको निर्वाचन यसअघि सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्