Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


निर्वाचन चिह्नअंकित टोपी, टी–सर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शनमा निषेध


0
Shares

मंसिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिह्नअंकित त्यस्ता सामग्रीको उत्पादन, बिक्री–वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले देशभरका ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत, प्रजिअ, क्षेत्रीय/जिल्ला निर्वाचन अधिकारीलाई आयोगले आइतबार पत्र पठाइ राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचार–प्रसारमा निर्वाचन आचारसंहिताविपरीत हुने सामग्री उत्पादन, बिक्री–वितरण र प्रयोगमा कडाइका साथ रोकथाम र नियन्त्रण गर्न निर्देशन दिएको उनले बताए ।

राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचार–प्रसारमा त्यस्ता सामग्री व्यापकरूपमा उत्पादन तथा वितरण गर्न लागेको सूचना पाएपछि आयोगले यस्तो निर्णय लिएको हो ।

आयोगले पठाएको पत्रमा भनिएको छ–‘निर्वाचन प्रचार–प्रसारमा त्यस्ता सामग्री प्रयोग गरेको पाइएमा जफत गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारबाही गरिनेछ ।’

यसअघिको निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधी कारबाही गरेको थियो ।

निर्वाचनको अनुगमन गर्नेक्रममा आयोगबाट खटिएको टोलीले दल तथा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्नअंकित टी–सर्ट, टोपी, गम्छा र झोला बरामद गरी नस्ट गर्नाका साथै सम्बन्धित पक्षलाई कारबाही गरेको थियो । रासस