१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


ताप्लेजुङमा वाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा (भिडियो)


0
Shares

निर्वाचनमा मुख्यगरी वाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ ।

पूर्वीपहाडी जिल्ला ताप्लेजुङमा उम्मेदवारको मनोनयन दर्तासँगै चुनावी चहल–पहल निकै बढेको छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मिश्रित परिणाम आएको ताप्लेजुङको राजनीति अहिले आएर दुई ध्रुवमा विभाजित बनेको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रको समर्थनमा उम्मेदवारी दिएपछि नेपाली कांग्रेसले पनि आफ्नो गठबन्धनलाई बलियो बनाउने तयारी गरेको छ ।

कांग्रेसले ताप्लेजुङमा केशवप्रसाद दाहाललाई मैदानमा उतारेको छ ।

वाम गठबन्धन र नेपाली कांग्रेसले निकै तामझामका साथ उम्मेदवारी दर्ता गराएका छन् ।

वाम गठबन्धनका उम्मेदवार योगेश भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभातर्फका सबै क्षेत्रमा गठबन्धनकै उम्मेदवार विजयी हुने दाबी गरे ।

नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले पनि आफूले जिल्लावासीका समस्या बुझेको र समस्या समाधान गर्नसक्ने व्यक्ति आफूमात्रै भएकाले जितमा कुनै शंका नरहेको बताए ।

ठूला दलका नेताले ठूलै तामझामका साथ मनोनयन दर्ता गर्दै चुनावी प्रचारमा निस्किएपनि सामान्य प्रभाव रहेका साना दलले पनि अन्य दलसँग सहकार्यको तयारी गरिरहेका छन् ।

नयाँ शक्ति नेपालका जिल्ला संयोजक सञ्चपाल मादेनले आफ्नो दलले पनि चुनावी अभियान सुरु गरिसकेको भएपनि अन्य दलसँगको सहकार्यका विषयमासमेत छलफल भइरहेको बताए ।

ताप्लेजुङबाट प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईजना निर्वाचित हुने छन् ।

प्रतिनिधिसभातर्फ एक स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभाको ‘क’ क्षेत्रमा सात र ‘ख’क्षेत्रमा ८ जनाको उम्मेदवारी परेको छ ।

वाम गठबन्धनले ‘क’ क्षेत्रमा एमालेबाट बलबहादुर साम्सोहाङ र ‘ख’ क्षेत्रबाट माओवादी केन्द्रका टंक आङ्बुहाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले ‘क’बाट जिल्ला पाटी सभापति लिला बोखिम र ‘ख’बाट दीपेन्द्रकुमार सेन्दाङलाई उम्मेदवार उठाएको छ ।

वाम गठबन्धन र कांग्रेसबाहेक संघीय लिम्बूवान मञ्च, राष्ट्रिय जनमुक्ति, राप्रपा राष्ट्रवादी, नयाँ शक्ति र संघीय समाजवादी फोरमले दुवै क्षेत्रमा प्रदेशसभामा उम्मेदवारी दिएका छन् । जनसमाजवादी पार्टी नेपालले भने ‘ख’ क्षेत्रबाटमात्रै उम्मेदवारी दिएको छ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले यसपटक ताप्लेजुङमा ७३ मतदानस्थलमा ११४ मदतान केन्द्र तोकेको छ । जसमा ‘क’ क्षेत्रमा ६१ र ‘ख’ क्षेत्रमा ५३ ओटा मतदान केन्द्र रहनेछन् ।

आगामी निर्वाचनमा ताप्लेजुङबाट ७८ हजार ३९७ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

भिडियो हेर्नुहोस्