
पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा साँझ ७ बजे सुदामा नाच देखाएर नाच सुरु गरिँदैछ ।
नाच सुरु गर्न गुरु, कलाकार, वाद्यकलाकारहरुको उपस्थितिमा कार्तिक नाच संरक्षण समितिले सोमबार नासःद्यः पूजा सम्पन्न गरेको छ ।
यस नाचमा प्रदर्शन हुने कृष्णलीला, धार्मिक शास्त्रीय नाच तथा लोकनाटकमा दोस्रो दिन (कात्तिक ८ गते) बाथः प्याखं (नाटक), सातौं दिनसम्म उषाहरण लिला नाच, आठौं दिन (कात्तिक १४ गते) जलशयनअन्तर्गत् मधु–कटैव वध, नवौं दिन (कात्तिक १५ गते) बराह अवतारअन्तर्गत् हिरण्याक्ष वध, दशौं दिन (कात्तिक १६ गते) नृसिंह अवतारअन्तर्गत् हिरण्यकश्यपु वध, ११औं दिन (कात्तिक १७ गते) वस्त्रहरणलीला र अन्तिम दिन (कात्तिक १८ गते) दधिलिला देखाइनेछ ।
संसारकै एकमात्र लामो समयसम्म चल्ने नाट्य परम्परा भएको दाबी गरिएको कार्तिक नाच हाल १२ दिनसम्म सन्चालन हुँदै आएको छ भने १२ दिन पनि मुस्किलले चलेको संरक्षण समितिका अध्यक्ष एवं कलाकार किरण चित्रकारले बताए ।
सरकार र ललितपुर महानगरपालिकाले दिँदै आएको आर्थिक सहयोग अपुग भएका कारण कार्तिक नाच संरक्षण र सन्चालनमा कठिनाइ रहेको उनको भनाइ छ ।
आर्थिक सहयोग भए विगतमाजस्तै एक महिनासम्म कार्तिक नाच देखाउन सकिने उनले बताएका छन् ।
सिद्धिनरसिंह मल्लले कृष्णलीलामा आधारित नाचहरु प्रदर्शन गरी एक साता चलाएको कार्तिक नाच उनका छोरा श्रीनिवास मल्लले लोकनाटकहरु थपेर १५ दिन पुर्याएका थिए ।
श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले शास्त्रीय नाचहरु थपी एक महिनासम्म प्रदर्शन गर्ने परम्परा थालेका थिए ।
प्रतिक्रिया दिनुहोस्