
माओवादीमा रहेर एउटै राजनीति गरेका दुई शीर्ष नेता समयको चक्रमा एकै निर्वाचन क्षेत्रमा भिड्नुपर्ने भएपछि गोरखाले सबैको ध्यान खिचेको हो ।
अर्थात् प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर–२ मा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भिड्ने भएपछि जिल्लाको राजनीतिक माहोल झनै तातेको छ ।
एउटै कम्युनिष्ट केन्द्र बनाउने भन्दै एमाले–माओवादी केन्द्रको अभियानमा जोडिँदा पनि माओवादीले आफूलाई क्षेत्र छोड्न नमानेपछि डा. भट्टराई लोकतान्त्रिक गठबन्धन मूलतः कांग्रेसको सहारामा मैदानमा उत्रिएका हुन् ।
गोरखा २ नम्बर क्षेत्र दिए आफैंले बनाएको पार्टीको अस्तित्व नै मेटेर एमालेको चुनाव चिह्नमै निर्वाचन लड्न तयार भट्टराईलाई माओवादीले कुनै हालतमा क्षेत्र नदिने भएपछि उनले अर्को बाटो पहिल्याएका हुन् ।
एमाले–माओवादी गठबन्धनले नारायणकाजी श्रेष्ठलाई सोही क्षेत्रमा उतारेपछि भिडन्त रोचक हुने भएको छ ।
कुनै समय एउटै पार्टीका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री र उपप्रधानमन्त्रीको यो भिडन्तमा कसले बाजी मार्ला भन्ने चासो सारा नेपालीलाई भएका बेला गोर्खालीको काँधमा भने उचित निर्णय दिनुपर्ने जिम्मेवारी थपिएको छ ।
यसअघिका निर्वाचनमा गोरखाबाटै निर्वाचन जितेका भट्टराईलाई क्षेत्रसम्म छाड्न कम्युनिष्ट गठबन्धनले नमानेपछि बाध्य भएर भट्टराई कांग्रेस शिविरमा छिरेका हुन् ।
क्षेत्र नम्बर–२ मा भट्टराईलाई सघाएर १ नम्बर क्षेत्रमा जित निकाल्ने सुरुमा कांग्रेस छ । जहाँ कांग्रेस नेता चिनकाजी श्रेष्ठ प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका छन् भने प्रदेशसभामा पनि कांग्रेसले जितको अपेक्षा गरेको छ ।
उसोत कम्युनिष्ट गठबन्धन बनाउँदै सोलोडोलो भोट एकै ठाउँमा खन्याएर प्रतिनिधि र प्रदेशसभा सदस्य दुवैमा एकलौटी बनाउने दाउमा एमाले–माओवादी छन् ।
तर, पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई भने प्रधानमन्त्री र अर्थमन्त्री हुँदा आफूले गरेको विकासलाई हेरेरै पनि आफू जित्ने विश्वास व्यक्त गर्छन् ।
उता, श्रेष्ठ भने गोरखालाई उज्ज्वल भविष्ययुक्त बनाउन वाम गठबन्धनलेमात्र गर्नसक्ने तर्क गर्दै जित सुनिश्चित रहेको दाबी गर्छन् ।
दुईओटा निर्वाचन क्षेत्र रहेको गोरखामा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा वर्चस्व कायम गरेको र अहिले नयाँ शक्तिसँग तालमेल गरेकाले गठबन्धनलाई हराउने विश्वास कांग्रेस नेता चिनकाजी श्रेष्ठको छ ।
प्रतिनिधिसभातर्फ दुवै सिट एमालेले माओवादीलाई सुम्पेपछि क्षेत्र नम्बर–१ मा भने कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतक चिनकाजी श्रेष्ठसँग माओवादी केन्द्रका हरिराज अधिकारी चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्