१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


चुनावी घोषणा बनाउनेतर्फ दलहरुको बेवास्ता (भिडियो रिपोर्ट)


0
Shares

प्रमुख राजनीतिक दल चुनावी गठबन्धनको सिट भागबन्डामा व्यस्त भएपछि घोषणापत्र निर्माणकार्य ओझेलमा परेको छ ।

यद्यपि, निर्वाचन प्रचार सुरु हुनुभन्दा पहिले नै घोषणापत्र सार्वजनिक गर्ने उनीहरुको भनाइ छ ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी प्रक्रिया औपचारिकरुपमा अगाडि बढेको छ ।

उम्मेदवारहरुको मनोनयन दर्तासँगै राजनीतिक दलहरु चुनावी मैदानमा उत्रिएका छन् । यसअघिका संसदीय र संविधानसभाको निर्वाचनमा दलहरु चुनावी घोषणापत्र सार्वजनिक गरेर उम्मेदवारी मनोनयनमा लाग्थे । तर, यसपटक भने त्यस्तो हुन सकेन ।

दलहरुले उम्मेदवारहरुलाई जनताको माझ चिनाइसक्दा पनि आफ्ना चुनावी एजेन्डा के हुन् भनेर सार्वजनिक गर्न सकेका छैनन् ।

प्रमुख दलहरुबीच चुनावी एकता भएपछि उनीहरु घोषणपत्र बनाउन अल्मलिएका छन् । अधिकांश ठूला पार्टीले घोषणापत्र मस्यौदा समिति नै बनाएर काम अगाडि बढाएपनि त्यसले पूर्णता पाउन सकेको छैन ।

निर्वाचन क्षेत्रको भागबन्डा मिलाउनमै दलहरुले धेरै समय खर्च गर्नुपरेकाले पनि उनीहरुले घोषणापत्रलाई प्राथमिकता दिन सकेनन् ।

वाम गठबन्धनबाट चुनावी घोषणापत्र निर्माण गर्न गठित मस्यौदा समितिका सदस्य नेकपा एमालेका नेता भीम रावल भने गठबन्धन सहयात्री माओवादी केन्द्रसँग साझा नीति कार्यक्रम बनाउन कुनै समस्या नपरेको दाबी गर्छन् ।

आफूहरुले घोषणापत्रका सम्पूर्ण काम सकिसकेको भन्दै नेता रावलले उम्मेदवारहरुले प्रचार–प्रसार सुरु गर्नुअगावै घोषणापत्र सार्वजनिक गरिसक्ने बताए ।

नेता रावलले वाम गठबन्धनले संविधान कार्यान्वयनलाई दृष्टिगत गर्दै राष्ट्रिय स्वाधिनता, अखन्डता र आर्थिक समृद्धिलाई जोड दिएर घोषणापत्र तयार पारेको बताए ।

उता, अर्को प्रमुख दल नेपाली कांग्रेसले पनि घोषणापत्रको मस्यौदा अन्तिम चरणमा पुगेको जनाएको छ ।

अन्य राजनीतिक दलले घोषणापत्रमा समावेश गर्न लागेका विषयलाई पनि सूक्ष्मरुपमा अवलोकन गरिरहेको भन्दै कांग्रेसले सामाजिक सुरक्षा र जनजीवीकाका विषयलाई प्राथमिकता दिने जनाएको छ ।

कांग्रेसले आफू नेतृत्व गठबन्धनमा आवद्ध दलहरुको संयुक्त घोषणापत्र नहुने पनि स्पस्ट पारेको छ ।

भिडियो हेर्नुहोस्