नवीनराज कुइँकेल (इमेज)
लमजुङ, पुस २० । २७औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक त्रिवेणी युवा क्लबले जितेको छ ।
शुक्रबार लमजुङ सदरमुकाम बेसीसहरस्थित सहजी रंगशालामा भएको फाइनल खेलमा सुन्दरबजार युवा क्लबलाई १–० ले हराउँदै आयोजक टिम च्याम्पियन बनेको हो ।
त्रिवेणीलाई उपाधि दिलाउन खेलको २५औं मिनेटमा मेन्साले गरेको गोल नै निर्णायक बन्यो ।
अफ्रिकन मुलुक केन्या र गिनीका ४ खेलाडी लिएर मैदानमा उत्रिएको त्रिवेणीलाई सुन्दरबजारले निकै दबाबमा राखेको थियो ।
दोस्रो हाफमा निकै आक्रमक देखिएको सुन्दरबजारले राम्रा अवसरहरु पाएपनि गोल फर्काउन सकेन ।
उपाधिसँगै त्रिवेणी युवा क्लबले नगद तीन लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको सुन्दरबजारले एक लाख ५० हजारमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुन्दरबजारका गोलरक्षक बबिन मल्ल घोषित भए ।
प्रतियोगिताभर ५ गोल गरेका त्रिवेणीका मेन्सा सर्वाधिक गोलकर्ता बने ।
सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही १५ हजार रुपैयाँ पाए ।
फाइनल खेलको ‘म्यान अफ दी म्याच’ त्रिवेणीका कप्तान सोमराज गुरुङ घोषित भए ।
प्रतियोगितामा विभिन्न जिल्लाका २० टिमले सहभागिता जनाएका थिए ।








प्रतिक्रिया दिनुहोस्