१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


बागलुङमा कांग्रेसका तीन पूर्वसांसद चुनावी प्रतिस्पर्धामा


0
Shares

वाम गठबन्धनविरुद्ध कांग्रेस उम्मेदवार एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन् ।

कांग्रेसले बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवं पूर्वसांसद चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ ।

उनी २०७१ सालको संविधानसभा उपचुनावमा बागलुङ क्षेत्र नम्बर–१ बाट विजयी भएकी थिइन् ।

यस्तै, २०६४ सालको संविधानसभा चुनावमा क्षेत्र नम्बर–३ बाट निर्वाचित नीरज पुन अहिले क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

२०७० सालको संविधानसभा चुनावमा क्षेत्र नम्बर–२ बाट सांसद बनेका प्रकाश शर्मा पौडेल अहिले क्षेत्र नम्बर–१ को प्रदेशसभा (क)बाट चुनावी मैदानमा छन् ।

वाम गठबन्धनसँग तीव्र प्रतिस्पर्धा हुने देखेर कांग्रेसले पुनः पुरानै अनुहारलाई चुनावी मैदानमा उतारेको विश्लेषण गरिएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जनताको बीचमा स्थापित नेतालाई पार्टीले उम्मेदवार बनाएको बताए ।

जिल्लाको विकासमा तीनै पूर्वसांसदहरुको उल्लेख्य योगदान रहेकाले जित हासिल गर्ने कांग्रेसको दाबी छ ।

पार्टी सभापति थापा पनि निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेशसभा (क)बाट चुनावी प्रतिस्पर्धामा छन् ।

पाका, अनुभवी र नेतृत्व तहमा रहेका व्यक्तिलाई उम्मेदवार बनाइएपनि पार्टीभित्र असन्तुष्टि रहेको कतिपय नेता बताउँछन् ।

असन्तुष्टिकाबीचमा पनि एकढिक्का भएर चुनावमा जाने कांग्रेस र वाम गठबन्धनका दलले निर्णय गरेका छन् ।

अघिल्ला चुनावमा एकलरुपमा चुनाव लड्दै आएका मुख्य वाम दल अहिले तालमेल गरेर चुनाव भिड्दैछन् ।

वामपन्थीको राम्रो प्रभाव रहेको मानिएको बागलुङमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर बनेको वाम गठबन्धनसँग नेपाली कांग्रेस एक्लैले चुनाव लड्दैछ ।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले एक्लै उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रेको छ ।

एमालले एक प्रतिनिधिसभा र एक प्रदेशसभा, माओवादी केन्द्रले पनि एक प्रतिनिधिसभा र एक प्रदेशसभा तथा राष्ट्रिय जनमोर्चाले दुई प्रदेशसभामा उम्मेदवारी दिएको छ ।

वाम गठबन्धनले संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर चुनावी प्रचार–प्रसारमा जुटिसकेको छ । नेपाली कांग्रेस पनि चुनावी तयारीमा लागेको छ ।

२०७० सालकोे संविधानसभा निर्वाचनमा जिल्लाका तीनै क्षेत्रमा नेपाली कांग्रेस विजयी बनेको थियो । गत वैशाखमा भएको स्थानीय तहको चुनावमा भने सबै दलले मिश्रित परिणाम हात पारेका थिए । रासस