
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यो पर्वको विशेषता रहेको छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा नदी तथा तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
यो पर्व गर्नाले सन्तान प्राप्ति र छालारोग निको हुने गरेको मान्यतासमेत रहेको छ ।
महाभारतकाअनुसार द्रौपतिसहित पान्डवहरुले अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको धार्मिक कथन छ ।
पुत्रपाप्तीका लागि स्वाम्भुव मनुका छोरा प्रियव्रत राजाले यो पर्व गरेपछि सुरुआत भएको धार्मिक किम्बदन्तीसमेत रहेको छ ।
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठपर्व मंगलबार ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो ।
छठपर्व सुरु भएसँगै गाउँ–बस्तीमा छठीगीत गुन्जिरहेका छन् । पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् ।
यसैगरी, पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुवाइ–धुवाइ गरेर निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अघ्र्य दिने गरिन्छ । मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।
झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ ।
मुख्यतः जनकपुरका गंगा सागर, अरगजा सागर धनुषा सागर, रुकमिणी सागर, दशरथ तलाउ सहितका दर्जनौं पोखरीहरुलाई सजाइएको छ ।
त्यस्तै, जलेश्वरको रातु नदी, बरुण र परशुराम सरोवारमा पनि सरसफाइ गरिएको छ ।
वीरगन्जको घडीअर्वा, नगवा, छपकैया र पिपराकोपोखरी, श्रीसियानदीको रानीघाटलगायत तराइका सबै नदी, पोखरी तथा जलाशय सरसफाइ गरी दुलहीजस्तै सिंगारिएको छ ।
छठपर्वलाई सुरक्षित र व्यवस्थित मनाउन एक हप्तादेखि तराईको सुरक्षामा विशेष व्यवस्था हुने गरेको छ ।
छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरु पनि त्यतिकै छन् ।
महिला प्रधान पर्वमा उनीहरूको पूजा सामग्री भरिएको छैंटा पुरुषहरुले गर्वसाथ टाउकोमा बोकेर छठघाटमा पुर्याउने परम्परागत चलन रहेकाले यसलाइ समान्ताको पर्वकोरुपमा पनि लिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्