१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


‘बागी’ उम्मेदवारी फिर्ता लिन सेनाको हेलिकोप्टर चढेर रामेछाप पुगे तीनजना


0
Shares

माओवादी केन्द्रका शीर्ष नेतृत्वको पहलमा प्रतिनिधिसभातर्फ बागी उम्मेदवारी दिएकी लक्ष्मी गुरुङ, प्रदेशसभा सदस्य ‘क’तर्फ सोही पार्टीका केन्द्रीय आयोजक कमिटी सदस्य हेमन्त पौडेल र प्रदेशसभा ‘ख’तर्फ सोही पार्टीका पोलिटब्युरो सदस्य एवं जिल्ला संयोजक मैनकुमार मोक्तानले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिएपछि उनीहरुले आफूहरुका लागि पार्टीभन्दा ठूलो केही हुन नसक्ने भन्दै पार्टीको हितलाई ध्यानमा राखी आफूहरुले उम्मेदवारी फिर्ता लिएको बताए ।

बिनाविभागीय राज्यमन्त्री श्यामकुमार श्रेष्ठले उनीहरुलाई सेनाको हेलिकोप्टर चढाएर नाम फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुर्‍याएका थिए ।

उनीहरु बुधबार अपराह्न पौने १ बजेतिर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन फिर्ता गरी सोही हेलिकोप्टरमार्फत् पुनः काठमाडौं फर्किएका थिए ।

मनोनयन दर्ता गरी काठमाडौं पुगेका उनीहरु काठमाडौंमा नै बसेर पार्टीका नेताहरुसँगको आन्तरिक सहमतिपछि आकस्मिकरुपमा हेलिकोप्टर चार्टर गरी मन्थली आइपुगेका थिए ।

उनीहरुसँगै बिनाविभागीय राज्यमन्त्री श्यामकुमार श्रेष्ठ पनि सोही हेलिकोप्टरमार्फत् काठमाडौं फर्किएका छन् ।

उनीहरुसहित अरु चारजना उम्मेदवारहरुले पनि बुधबारै उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उम्मेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधिसभातर्फ राप्रपा प्रजातान्त्रिकका लालबहादुर घिसिङ र सोही पार्टीबाट प्रदेशसभा ‘क’ र ‘ख’बाट क्रमशः दीपबहादुर तामाङ र रामकुमार थापा रहेका छन् ।

उनीहरु तीनैजनाले आफ्नो पार्टीले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको बताए ।

स्वतन्त्ररुपमा प्रदेशसभा ‘ख’मा उम्मेदवारी दिएका पेम्वा दोर्जे तामाङले पनि आफ्नो नाम फिर्ता लिएका छन् ।

नाम फिर्ता लिनेहरुको संख्या ७ जना पुगेको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

यसरी ७ जनाले आफ्नो मनोनयन फिर्ता लिएपछि अब रामेछाप जिल्लाबाट उम्मेदवारहरुको संख्या १७ रहेको छ ।