२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


यसो भन्छन् म्याग्दीका उम्मेदवार (भिडियो)


0
Shares

प्रचारमा जुटेका उम्मेदवारहरुले आफूले जितेमा जिल्लाको विकास निर्माणमा ध्यान दिने आश्वासन दिन थालेका छन् ।

मनोनयन दर्ता गरेसँगै दलहरु चुनावी रणनीति, योजना र कार्यकर्ता परिचालनसहितको योजनाहरुमा केन्द्रित भएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न वडास्तर, घरदैलोलगायतका अभियानकाबारेमा पार्टीमा छलफल सुरु भएको छ ।

राजनीतिक दलले स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहितको टोलीलाई परिचालन गर्नेगरी योजनाहरु पनि बनाइरहेका छन् ।

प्रतिनिधिसभातर्फ एकमात्र क्षेत्र भएको म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा गरी तीन सिटका लागि विभिन्न दल र स्वतन्त्र गरी १८ जनाको उम्मेदवारी परेको छ ।

एमाले–माओवादी गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका भूपेन्द्रबहादुर थापाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसको तर्फबाट जिल्ला पार्टी सभापति खमबहादुर गर्बुजाले उम्मेदवारी दिएका छन् । गर्बुजाले आफूले जितेमा तलब–भत्ताको रकम जिल्लाका गरिबहरुको उपचारका लागि अक्षयकोष स्थापना गर्ने बताउँछन् ।

नेकपा एमालेका भूपेन्द्रबहादुर थापाले म्याग्दी जिल्लाको आर्थिक समृद्धिको अभियानमा आफूले नेतृत्व गर्ने बताउँदै जिल्लाको समग्र विकास र स्थायित्वका लागि वाम गठबन्धनको तर्फबाट आफूले उम्मेदवारी दिएको बताए ।

प्रदेशसभा ‘क’मा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादीका विनोद केसीले जिल्लाका स्रोतहरु वन–जंगल, जडिबुटी, पर्यटन र जलस्रोतको समुचित उपयोग गरी जिल्लालाई सम्पन्न बनाउने आफ्नो योजना रहेको बताउँछन् ।

त्यस्तै, प्रजातान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभा ‘क’मा उम्मेदवारी दिएका राप्रपाका भीमप्रसाद गौचनले आफू निर्वाचित भए म्याग्दी जिल्लालाई समृद्ध जिल्ला बनाउने बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावी अभियानमा जुटेका दलले वडास्तरबाटै अभियानको सुरुआत गरिरहेका छन् ।

म्याग्दीमा ९ ओटा राजनीतिक दलका १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

भिडियो हेर्नुहोस्