२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


राष्ट्रपति छठपूजामा सरिक (भिडियो)


0
Shares

राष्ट्रपति भण्डारीले बिहीबार काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै षष्ठीमाताको पूजा गरेकी हुन् ।

यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवा पनि गौरीघाट र कमलपोखरीमा पुगेर छठपूजामा सरिक भए ।

काठमाडौंमा केही वर्षयता निकै धुमधामका साथ छठ मनाउन थालिएको छ ।

काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा बाग्मती, विष्णुमती र नख्खु नदी किनारमा धुमधामका साथ छठ मनाइएको हो ।

रानीपोखरीमा मुख्य कार्यक्रम गरी मनाइने गरिएकोमा दुई वर्षअघि गएको भूकम्पका कारण ध्वस्त संरचना अझै नबनाउँदा यस वर्ष पनि त्यहाँ छठ पूजा हुन सकेन ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।

पारिवारिक सुख–शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठपर्व मनाउने गरिन्छ ।

आदिकालमा सति अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठीदेवीको पूजा–आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ ।

त्यसैगरी, महाभारतकालमा द्रौपदीसहित पान्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।

भिडियो हेर्नुहोस्