२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अर्जुन श्रेष्ठ: स्वीडेनमा नेपालीका सारथी, नेपालमा असहायका भरोसा


0
Shares

गाउँमा रहँदा विकास निर्माण मात्र होइन असहास, अशक्त र कानुनी जटिलता भोगिरहेका ब्यक्तिहरुका साहारा बनेका अर्जुनले दोस्रो जनआन्दोलनमा पनि सडक तताए । नागरिक स्वतन्त्रता प्राप्तीको सडक संघर्षलाई उत्सर्गमा पुर्‍याएर २०६३ पछि उनी रोजगारीको सिलसिलामा सात समुन्द्रपारीको चिसो भूमि स्विडेन पुगे । ‘स्वीडेन त पुगियो तर जीवन भोगाइको वास्तविकता मातृभूमि छाडेपछि मात्र अनुभुति हुँदोरहेछ, उनले सुरुवातीका दिन सुनाउँदै भने, ‘आफू बाँच्ने संघर्ष एकातिर थियो तर मातृभूमिको मायाले अर्कातिर सताउथ्यो ।’

स्वीडेन समृद्ध तर न्यून जनसंख्या भएको देश हो । नेपालीहरुको संख्या करिब १२ सय भन्दा बढी छैन । अर्जुनले स्वीडेनमा सुरुमा रेष्टुरेन्टमै काम गरे । दुईछाक टार्ने मेसो रेष्टुरेन्टबाटै मिलाए । नेपालमा सैद्धान्तिक शिक्षा लिएका उनलाई सीपमुलक व्यवहारिक शिक्षाको आवश्यक्ता परदेश पुगेपछि मात्र महसुस भयो ।

‘नेपालमा पिएचडी नै पढेपनि ब्यवहारिक शिक्षा नहुँदा विदेशमा समस्या हुँदोरहेछ,’उनले भने, ‘सीपयुक्त व्यवहारिक शिक्षा विश्वभर काम दिने रहेछ ।’ नेपालको शिक्षालाई व्यावहारमुखी बनाउनुपर्ने रहेछ भन्ने ज्ञान अर्जुनलाई स्विडेनले मजाले सिकायो, उनी भन्छन् ‘सर्टिफिकेटले खाना नपाक्ने रहेछ ।’

एनआरएनए यात्रा

रोजगारी गरेर जीवन गुजारा गर्दै गरेका अर्जुन विदेशमा बसेर पनि सामाजिक काममा उत्तिकै सक्रिय भए । नेपालीहरुले स्थापना गरेका विभिन्न संघ संस्थाका सेवामुलक कार्यमा सहभागि हुँदै उनले गैरआवसीय नेपाली संघ(एनआरएनए)मार्फत मातृभूमिको सेवामा सक्रिय हुने मेसो मिलाए ।

एनआरएनएको कार्यसमिति सदस्य हुँदै उनले नेतृत्व तहसम्म पुगेर नेपालका दुर्गम क्षेत्रमा सेवामुलक कामहरु अघि सारेका छन् । सन् २०१३–१५ मा केन्द्रीय सदस्य भएका उनी सन् २०१५–१७ सम्म स्विडेनको महासचिब हुँदै हाल अध्यक्षको जिम्मेवारी सम्हालेर प्रवासी नेपाली र नेपालका दुरदराजमा रहेका असाहय, अशक्त, द्वन्द्वपीडित समुदायको सेवामा क्रियाशिल छन् ।

‘झोला विसाउने’का सारथी

पहिलो पटक विदेश पुगेका नेपालीहरुको समस्या भनेको बस्ने र खाने नै हो । एयरपोर्टबाट बाहिरिएपछि झोला विसाउने ठाउँ नभेटाउँदा धेरै नेपालीहरुले सास्ती भोगेका छन् ।

अर्जुन श्रेष्ठ विगत एक दशकदेखि ‘झोला विसाउने’ नेपालीहरुका सारथी बनेर पनि कहलिएका छन् । स्विडेन पुगेका करिब तीन दर्जन नेपालीहरुलाई साहारा दिएर मनकारी ब्यक्तिका आफूलाई स्थापित गरेका छन् ।

विदेश पुगेकाहरुलाई काम खोज्ने भन्दा पनि पहिले कहाँ बस्ने भन्ने समस्या हुँदोरहेछ, त्यसैले सकेको सहयोग जुटाएको छु, उनले भने, ‘कतिपय नेपालीहरु गैरकानुनी रुपमा पुगेकाले सहारा दिएर उद्धार गर्ने काम समेत गर्ने सौभाग्य पाएँ ।’

नेपालमा सहयोग

school1

अर्जुन स्वीडेनमा बसेर प्रवासी नेपालीहरुको मात्र सेवामा जुटेका छैनन् । नेपालका दुरदराज र पीडितहरुका निम्ती पनि उत्तिकै सक्रिय छन् । उनकै सक्रियता र अगुवाइमा पश्चिम रोल्पाको जिनाबाङ (ओनसरी घर्तीको गाउँ) को सिद्धार्थ माध्यमिक विद्यालयलका निम्ती करिब ७ लाख रुपैंयाको आर्थिक सहयोग र स्थानीयको श्रमदानबाट करिब ११ लाख रुपैंयाको विद्यालय भवन भर्खरै हस्तान्तरण गरेका छन् ।

पूर्वी रोल्पाकै सिउरी भन्ने गाउँमा निम्न माध्यमिक विद्यालयका लागि भवन अर्जुनको अगुवाईमा विद्यालय भवन र पक्की शौचालय निर्माण भइसकेका तर हस्तान्तरण हुन बाँकी छ । ई–लाइब्रेरीको योजना पनि चाँडै अघि बढ्ने छ । त्यतिमात्र होइन एनआरएनएकै सहयोगमा पर्वतको मोदी–बेनीमा बृद्धाश्रमको झ्याल–ढोका निर्माणमा सहयोग गर्ने योजना छ ।  काठमाडौंको कान्ति बाल अस्पतालमा विरामी कुरुवाहरुका निम्ती भवन निर्माण गर्ने डाक्टरहरुले दिएको ‘मास्टर प्लान’ लाई सहयोग गर्ने मानसिकता अर्जुनले तयार पारिरहेका छन् ।

केही समय अघि नेपाल आएका बेला अर्जुन श्रेष्ठ र एनआरएनए स्विडेनका सल्लाहकार सदस्य दिप थापाको अगुवाईमा ब्लड क्यान्सर पीडित सिन्धुलीका पाँच बर्षीय निमा लामालाई कान्ति बाल अस्पतालमै पुगेर संकललित १ लाख ८५ हजार सातसय रुपैया हस्तान्तरण गरेका छन् । पीडित निमालाई दीप थापाको अगुवाइमा रकम संकलन भएको र एनआरएनए स्वीडेनले सहयोग जुटाएको थियो। 

अर्जुनका योजनाहरुका निम्ती एनआरएनए स्विडेन कार्यसमिति, एनआरएनएका केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य साथै अन्य अभियन्ताहरु कुमार पन्त, सोम सापकोटालगायतले साथ दिइरहेका छन् ।

रुचाइएको ‘चाइल्ड टु चाइल्ड’ कार्यक्रम

एनआरएनए स्वीडेनको सक्रियतामा रोल्पाका द्वन्द्वपीडित, टुहुरा, असाहय बालबालिका र स्विडेनमा अध्ययन गरिरहेका विद्यार्थीहरुको भावनात्मक एकता गराउने उदेश्यले सुरु भएको ‘चाइल्ड टु चाइल्ड’ कार्यक्रम धेरैको नजरमा परेको छ । स्विडेन अध्यक्ष समेत भएकाले अर्जुन श्रेष्ठले यो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने योजना रहेको सुनाए ।

यो कार्यक्रम स्विडेनमा पढ्ने नेपाली बालबालिका र रोल्पाका बालकालिकालाई सहयोग गर्ने अभियानका रुपमा अघि बढाइएको उनले बताए । ‘यो कार्यक्रममार्फत कसले कसलाई सहयोग गर्दैछ भन्ने दुवैतिरका विद्यार्थीहरुलाई थाहा हुन्छ र दिर्घकालिन रुपमा कार्यक्रम अघि बढ्न सक्छ, उनले भने, स्विडिस र नेपाली विद्यार्थीको भावनात्मक एकता जागोस सहयोग आदनप्रदान गर्ने हौसला मिलोस भन्ने उदेश्य हो ।’ कार्यक्रम अन्तर्गत हाल २० जना विद्यार्थीका निम्ती मासिक १२ हजार नेपाली रुपैंया हस्तान्तरण गरिदैं आएको छ । यो कार्यक्रमले स्वीडेन र नेपालमा रहेका बालबालिकाबीच बालमैन्त्री सम्बन्ध स्थापित गराउने उदेश्य राखेको छ । 

अर्जुनको ‘अर्जुनदृष्टी’

arjun11

एनआरएनएको नेतृत्व सम्हालेपछि अर्जुन श्रेष्ठले नेपालका लागि महत्वकाक्षी योजनाहरु रहेको सुनाए । स्वीडेन, डेनमार्क, नर्वे, फिनल्याण्डका नेपालीहरु मिलेर सामूहिक लगानी भित्राउने प्रथम योजना हो । संस्थालाई राजनीतिक र जातिय आग्रह–पूर्वाग्रहबाट मुक्त राख्ने उनको नयाँ योजना हो । अर्जुन भन्छन्,‘सबै नेपालीलाई जोड्ने माध्यम भनेको विचार, व्यावहार र दृष्टि एउटै हुनुपर्छ, यसले सबैको हित गर्छ ।’ ठूलो सपना बोकेर विदेश पुगेका नेपालीको पीडा एउटै हुने भएकाले संस्थामार्फत नै मातृभूमिको सेवाका लागि पारदर्शी रुपमा अघि बढ्ने अर्जुन योजना छ । –युवराज गौतम