१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


नेकपाको तल्लो तहको संगठन निर्माणको विषय पेचिलो (भिडियो)


0
Shares

सुशनसर्जन रामदाम/सुयेश मानन्धर (इमेज)

काठमाडौं, असार १६ । तत्कालीन दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको संगठन निर्माणमा ढिलाइ हुँदै गएको छ ।

प्रदेश र जिल्ला तहका संगठन एकीकरण गरी एउटै संगठन बनाउन ढिला हुँदा कार्यकर्तामा भने निराशा छाउन थालेको छ ।

गत जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको तल्लो तहको संगठन निर्माणको विषय पेचिलो बन्ने संकेत देखिएको छ ।

पार्टीको स्थायी समिति र केन्द्रीय समितिले पूर्णता पाएपनि तल्लो निकायका संगठन अझै एक हुन सकेका छैनन् ।

तत्कालीन दुवै पार्टीका जिल्ला तहका नेताहरुले आपसी समन्वय गरेर नेकपाका गतिविधि अघि बढाउँदै आएका छन् । कतिपय ठाउँमा नेतृत्वको टकराव नै सतहमा आउन थालेको छ ।

यद्यपि, तल्लो तहमा संगठनको एकताका लागि बनेको कार्यदलले भने यस विषयमा अध्ययन गरेर काम अघि बढाइरहेको जनाएको छ ।

कार्यदलमा रहेका नेकपाका स्थायी समिति सदस्य वेदुराम भुसालले प्रदेश, जिल्ला, जनसंगठनहरुको एकीकरणका लागि कार्यदल बनाउनेदेखि सांगठनिक संरचना निर्माणको काम भइरहको दाबी गरे ।

तल्लो तहका संगठन निर्माणकाक्रममा नेतृत्वका विषयमा धेरैले आकांक्षा देखाएका छन् । यसलाई निरुपण गर्न कार्यदललाई निकै सकस परेको छ ।

यद्यपि, सबैका भावना समेट्दै संगठनलाई एक बनाउने प्रयास जारी रहेको कार्यदलका सदस्य भुसालको भनाइ छ ।

आगामी तीन महिनाभित्रै एकीकरणको प्रक्रिया टुंगो लगाउने उनले बताए ।

भिडियो हेर्नुहोस्