२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


हिमालय क्षेत्रमा फोहोरमैला बढ्दै जाँदा गुम्न थाल्यो हिमालकै सौन्दर्य (भिडियो)


0
Shares

हिमाल आरोहणकाक्रममा जथाभावी फालिने फोहोरमैलाका कारण नेपालका हिमालको सौन्दर्य गुम्दैमात्र गएको छैन, विदेशी आरोहीमासमेत नकारात्मक प्रभाव पर्न थालको छ ।

जलवायु परिवर्तनको असर र हिमालय क्षेत्रमा बढ्दो फोहोरमैलाका कारण उत्पन्न समस्याले हिमाल आरोहण गर्न आउने विदेशी आरोहीमा नकारात्मक प्रभाव पर्न थालेको छ ।

पर्वतीय पर्यटन विश्व आकर्षणकोरुपमा रहेको छ । तर, पछिल्ला समय हिमाल आरोहण गर्नेक्रममा बटोमा जथाभावी फालिने प्लास्टिकका बोतल, मदिराजन्य बोतल, चाउचाउ र सुर्तीजन्य पदार्थका खोलले हिमालय क्षेत्रलाई कुरुप बनाएकोमात्र छैन, हिमालमा नकारात्मक असरसमेत पुर्‍याएको छ ।

हिमालको फेदीमा फालिएका धातुजन्य टिन र फलामले गर्दा हिमालको सौन्दर्य घट्दै गएको छ भने पर्यावरणलाईसमेत दूषित बनाएको छ ।

हिमाल आरोही पिके शेर्पाले हिमालमा जथाभावी फालिने फोहोरमैलाको व्यवस्थापन हुन नसक्दा हिमालय क्षेत्रमा समस्या बढ्दै गएको बताए ।

हिमाल आरोहण पदमार्ग तथा हिमालको फेदीमा यत्रतत्र फालिएका फोहोरले गर्दा प्रकृतिमा त्यसको प्रत्यक्ष प्रभाव परेको छ भने मानवजातीमासमेत त्यसले असर पुर्‍याएको छ ।

राज्यले हिमाल आरोहण गरेबापत करोडौं रुपैयाँ राजश्व लिएपनि हिमाल संरक्षण र फोहोरमैला व्यवस्थापनमा खासै खर्च गरेको छैन ।

अहिले यस क्षेत्रको फोहोरमैला व्यवस्थापन व्यक्तिगतरुपमा हिमाल आरोही स्वयंले गर्दै आएका छन् ।

हिमालको संरक्षण गर्नु राज्यको दायित्व हो । तर, दिन–प्रतिदिन हिमालको सौन्दर्य यसरी घट्दै जाँदा स्वयं यसले राज्यलाई नै बेफाइदा भइरहेको छ ।

यसको असरको कारण हिमाल सुक्खा हुनु, विस्तारै हिमाल ढुंगामा परिणत हुनुजस्ता नकारात्मक परिणाम देखिन थालेका छन् ।

भिडियो हेर्नुहोस्